अभिनेत्री ऋचाले जितिन् अस्ट्रेलियाको प्रतिष्ठित अवार्ड

अभिनेत्री ऋचाले जितिन् अस्ट्रेलियाको प्रतिष्ठित अवार्ड
नेपालआईज
८ माघ २०७९ ७:४१

अस्ट्रेलिया । अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । सिडनीमा भएको ‘टाइटन इन्टरनेसनल फिल्म फेस्टिभल’ मा उनले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी हुन् ।

ऋचाले छोटो फिल्म ‘ब्लड मनी’ बाट यो अवार्ड हात पारेकी हुन् । उनले सयभन्दा बढी देशका फिल्मबीच भएको प्रतिस्पर्धामा उत्कृष्ट अभिनेत्री बन्न सफल भएकी छन् । यो फिल्मले यसअघि पनि विभिन्न फेस्टिभलमा अवार्ड प्राप्त गरिसकेको छ । सिंगापुरको ओल्ड फिल्म कार्निभल, व्हाइट पिलर इन्टरनेशनल फिल्म फेस्टिभल, अथ्विकवारुणी इन्टरनेशनल फिल्म फेस्टिभलमा ‘बेस्ट फिल्म अफ द इयर’ को अवार्डसमेत जितेको छ ।

२८ मिनेटको फिल्ममा ऋचाका अलावा मिथिला शर्मा, सौरभ पौडेल, पारस तिमल्सिना, विराज पराजुलीलगायतको अभिनय छ ।

ऋचाले साउदी अरबमा अपराध कसुरमा जेल सजाय भोग्न बाध्य एक युवाको श्रीमतीको भूमिका अभिनय गरेकी छन् । फिल्ममा अशोक तिमल्सिनाले श्रीमानको भूमिकामा अभिनय गरेका छन् ।

साउदी अरबमा अपराध गरेपछि क्षति हुने परिवारले मागे बराबर रकम दिने प्रक्रियालाई ‘ब्लड मनी’ भन्ने गरिन्छ । त्यही रकम जुटाउन मुख्य पात्रको चरित्रले गर्ने सङ्घर्षलाई फिल्ममा प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको