Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
सिड्नी । नेप्लिज इन्डिजिन नेस्नालिटिज फोरम अस्ट्रेलिया (एनआईएनएफए) को नयाँ कार्यसमिति चयन भएको छ । न्यू साउथ वेल्सको असबरीस्थित ६६ प्रिन्सेसमा बसेको एनआईएनएफएको वार्षिक साधारणसभाले सर्वसम्मतिमा नयाँ कार्यसमिति चयन गरेको हो ।
सभाले एनआईएनएफएका निवर्तमान महासचिव सुदर्शन थापा मगर अध्यक्षमा निर्विरोध चयन गरेको छ । त्यस्तै, उपाध्यक्षमा लीलबहादुर गुरुङ र सिमा सुब्बा, महासचिवमा अबिरल तामाङ, सचिवमा धर्मेश राजवंशी, कोषाध्यक्षमा सिम्रिका चौधरी र सह–कोषाध्यक्षमा आर्यन चौधरी थारु निर्वाचित भएका छन् ।
त्यसैगरी, संगठनको सांस्कृतिक संयोजकमा भीमशमशेर गुरुङ, खेलकुद संयोजकमा विक्रम शेरचन, कार्यक्रम संयोजकमा सुरेश शेरचन र सूचना प्रविधि संयोजकमा आशिष लोहोरुङ निर्वाचित भएका छन् । राम सिप्तुंका राई, उपेन्द्र श्रेष्ठ, घनेन्द्रराज फियाक, आशिष शेर्पा, चिराग प्रधान, जमुना वाइवा कार्यकारिणी सदस्य चुनिए ।
आगामी बैठकबाट थप एक कार्यकारिणी सदस्य चुनिने एनआईएनएफएले जनाएको छ ।
यसअघि, प्रख्यात सामुदायिक अगुवा तथा आदिवासी जनजातिको अधिकारका लागि प्रतिबद्ध सामुदायिक अभियन्ता गणेश तामाङको अध्यक्षतामा रहेको एनआईएनएफए निर्वाचन आयोगले आफ्ना सदस्यहरूलाई एक्सप्रेसन अफ इन्टेरेस्ट भर्न सूचना पठाएको थियो ।
संरक्षण समितिमा संस्थापक अध्यक्ष गणेश तामाङ, पूर्वअध्यक्ष अरुण तामाङ, पूर्वअध्यक्ष चित्रा थुम्बाहाम्फे, सामुदायिक नेता छिरिङ लामा, पूर्वउपाध्यक्ष लक्ष्मण गुरुङ र पूर्वउपाध्यक्ष शशिचन्द्र राई छन् । प्रत्येक समुदायमा आधारित संस्थाको अध्यक्षले पदेन रूपमा संरक्षक उपाध्यक्षको रूपमा सेवा गर्ने छन् ।
नवनिर्वाचित अध्यक्ष मगरले नेपालआइज डटकमसँग कुरा गर्दै अध्यक्षको हैसियतमा र नवनिर्वाचित टोलीको तर्फबाट सभामा उपस्थित सबैलाई धन्यवाद दिए । उनले निवर्तमान अध्यक्ष अरुण के तामाङ र उनको टोलीले गरेको योगदानको कदर गर्दै निर्वाचन आयोग, सञ्चारमाध्यमलगायत समुदायका सबैप्रति ऋणी रहने बताए । उनले आफ्नो टिमले प्रतिष्ठित संस्थालाई उत्कृष्ट फेसलिफ्ट दिन र संस्थाको विरासतलाई प्रगतिशील र समावेशी तरिकाले जारी राखेर अर्काे स्तरमा लैजान पूर्ण रूपमा प्रतिबद्ध रहेकोसमेत उल्लेख गरेका थिए ।