अस्ट्रेलिया । अस्ट्रेलियन सरकारले आउटब्याकको सबैभन्दा ठूलो शहर एलिस स्प्रिङ्समा मदिरा बिक्री वितरणमा केही कडाइ गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीजले मध्य अष्ट्रेलियामा हुने आपराधिक गतिविधिलाई रोक्न एक व्यक्तिलाई दिनमा एकपटक सीमित मात्रामा मात्र मदिरा खरिद गर्न अनुमति दिइने घोषणा गरेका हुन् ।
मङ्गलबार साँझ प्रधानमन्त्री अल्बानीजले नेताहरूसँग भेटघाट गरी यस क्षेत्रमा मदिरा सेवनबाट हुने गरेको आपराधिक गतिविधिका विषयमा छलफल गरेका छन् ।
आदिवासी समुदाय र कानुन प्रवर्तन एनटी सरकारका प्रतिनिधिहरूसँग भेट गरेपछि उनले एक व्यक्तिलाई दिनमा एकपटक सीमित मात्रामा मदिरा खरिद गर्न अनुमति दिइने बताए । त्यस्तै, सोमबार र मङ्गलबार ‘टेकवे अल्कोहल–मुक्त दिनहरू’ हुनेछन् र टेकअवे मदिरा बिक्री दिउँसो ३ देखि ७ बजेसम्मको अवधिमा मात्र हुनेछ ।
उत्तरी क्षेत्र एनटी प्रहरीको तथ्याङ्कअनुसार एलिस स्प्रिङ्समा गत वर्षको तुलनामा हिंसात्मक आक्रमण ४३ प्रतिशतले बढेको छ ।
त्यस क्षेत्रको भ्रमणका क्रममा प्रधानमन्त्री अल्वानीजले भने, ‘मदिराजन्य हिंसा एलिस स्प्रिङ्ग्सका जटिल समस्याहरू हुन् । तिनीहरूलाई पूर्ण समाधान चाहिएको छ । यसका लागि विभिन्न तहका सरकारहरू मिलेर काम गर्नु आवश्यक छ ।’
यो क्षेत्रको संकटमा सङ्घीय सरकारलाई हस्तक्षेप गर्न प्रतिपक्षी दलको दबाब परेपछि प्रधानमन्त्रीले यहाँ भ्रमण गरेका हुन् ।