उपप्रधान तथा गृहमन्त्री लामिछानेले आचार्यको परिवारसँग मागे माफी

उपप्रधान तथा गृहमन्त्री लामिछानेले आचार्यको परिवारसँग मागे माफी
नेपालआईज
११ माघ २०७९ १५:२८

नेपाल । संघीय संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारसँग उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले क्षमा मागेका छन् । बुधबार कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका गृहमन्त्री लामिछानेले मृतक आचार्यको परिवारका सदस्यलाई भेटेर बचाउन नसकेकोमा क्षमा मागेका हुन् ।

उनले आचार्यले उठाएका विषयमाथि छानबिन गर्ने आश्वासन पनि दिएका छन् । घटनाप्रति दुःख व्यक्त गर्दै उनले अहिले चलिरहेको राजनीति र प्रशासनिक कुराहरूमा सहभागी बन्न आफू नआएको पनि बताए ।

मंगलबार आत्मदाहको प्रयास गरेका इलामका ३७ वर्षीय आचार्यको बुधबार बिहान उपचारका क्रममा निधन भएको थियो ।

यसैबीच, सरकारले प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वर्गीय आचार्यले उठाएका विषयमा छानबिन गर्ने जिम्मेवारी गृहमन्त्रालयलाई दिने निर्णय गरेको हो ।

आत्मदाहको प्रयास गरेका आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्न गृहमन्त्रालयलाई भनिएको हो ।

यता, सामाजिक सञ्जालमा सुसाइड नोट लेखेर आत्मदाह गरेका आचार्यका माग पूरा हुनुपर्ने भन्दै सर्वसाधारणले माइतीघर र नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् । आचार्यको २५ बुँदे माग पूरा गर्न सरकारलाई दबाब दिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको