Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
क्यानबेरा । अस्ट्रेलियामा,अस्ट्रेलिया–नेपाल संसदीय मैत्री समूहको गठन भएको छ । अस्ट्रेलियाको संसदको प्रतिनिधिसभाले क्यानबेरामा गरेको विशेष कार्यक्रमकाबीच सोमबार अस्ट्रेलिया–नेपाल संसदीय मैत्री समूहको सुरुवात भएको क्यानवेरास्थित नेपाली दूतावासले जनाएको छ ।
समूहको अध्यक्षमा लेबर पार्टीका सांसद पिटर खलिल तथा उपाध्यक्षमा लिबरल पार्टीका सिनेटर एन्ड्रयू ब्राग रहेका छन् ।
समूहको औपचारिक उद्घाटनका क्रममा अध्यक्ष खलिलले नेपाल र अस्ट्रेलियाबीचको ६ दशकको मैत्रीपूर्ण सम्बन्ध तथा अस्ट्रेलियामा बढ्दो नेपाली समुदायलाई स्वीकार गर्दै यस समूहले नेपाली समुदायको हितमा काम गर्न र दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउन सक्षम हुने विश्वास व्यक्त गरे ।
उपाध्यक्ष ब्रागले अस्ट्रेलियाको अर्थतन्त्रमा नेपाली समुदायको योगदानको प्रशंसा गर्दै नेपाल र अस्ट्रेलियाबीच द्विपक्षीय सहयोगका विभिन्न माध्यम खोज्नुपर्ने आवश्यकतामा जोड दिए ।
कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले समूहका अध्यक्ष खलिल, उपाध्यक्ष ब्राग र समूहका सदस्यहरूलाई नेपाल-अस्ट्रेलिया संसदीय मैत्री समूहको हिस्सा बन्न पहल र चासो देखाएकोमा धन्यवाद व्यक्त गरे ।
राजदूत पोखरेलले नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग गर्ने हरेक पहललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप सुमधुर बनाउन यो समूह एउटा महत्वपूर्ण आधार बन्न सक्ने विश्वाससमेत व्यक्त गरे ।