नेपथ्य ब्यान्डका १३ भाइको अस्ट्रेलिया टुर सकियो, जाँदा जाँदै व्याण्डले ततायो तास्मानिया (फोटो फिचर)

होबार्ट- एन्टार्टिका महादेशबाट नजिकै पर्ने अष्ट्रेलियाली टापु तासमानियामा शुक्रबार बेलुकी अन्तिम प्रस्तुतिसँगै यो वर्षको नेपथ्य अष्ट्रेलिया श्रृंखलाबद्ध यात्राको समापन भएको छ । अष्ट्रेलियाका अन्य प्रान्तीय राजधानीहरूभन्दा शान्त होबार्ट सहरमा ऐतिहासिक महत्वको १ सय ७ वर्ष पुरानो सभागृह ‘ओडियन थिएटर’ दर्शकले भरिभराउ थियो ।

आफ्नो प्रिय ब्याण्ड नेपथ्यलाई दोश्रोपटक यस सहरमा पाएर रमाएका नेपालीहरूले अधिकांश गीतमा मञ्चका कलाकारलाई साथसाथै गाएर सघाएका थिए ।
अघिल्लो दिन मात्र एबीसी रेडियोको विहानी सत्रका वार्ताकार लियोन कम्पटनले नेपथ्यलाई ‘विश्व दर्शकमाझ नेपालको के पप ब्याण्ड जस्तै हो ?’ भनेर प्रश्न गरेका थिए । त्यतिबेला रेडियो अन्तर्वार्तामा उपस्थित ब्याण्ड व्यवस्थापक किरणकृष्ण श्रेष्ठले कोरियाली ब्याण्ड ‘के पप’ को उदय र उत्थानको बारेमा व्याख्या गर्दै नेपथ्य त्यसभन्दा अलिक बेग्लै रहेको प्रष्ट पारेका थिए ।
नेपथ्यको आत्मा नेपाली लोक संगीतसँग मिलेको जानकारी दिँदै किरणले विश्वभर विस्तार हुँदै गरेको नेपाली समुदायले यस ब्याण्डको उपस्थितिलाई आफ्नो पहिचानको स्वाद मानेर रमाउने गरेको उल्लेख गरेका थिए ।

शुक्रबार स्थानीय समय अनुसार साढे सात बजे हलका ढोका खुला गरिएको थियो भने नौ बजेदेखि कन्सर्ट सुरुभएको थियो । कार्यक्रममा अन्यत्र जस्तै ब्याण्डको स्थापनाकै पहिलो गीत ‘आँगनैभरि हिउँ नै झरे’ बाट सुरु गरियो । त्यो गीतबाटै हलभरिका दर्शकले साथसाथै गाएर कन्सर्टको माहोल तताइदिएपछि यो क्रम सिंगो कार्यक्रम अवधिभर जारी रहन पुग्यो ।

अढाइ लाख जनसंख्या पनि नभएको अष्ट्रेलियाकै यो सबैभन्दा शान्त प्रादेशिक राजधानीमा पछिल्लो समय विस्तारै नेपाली संख्या बढ्न थालेको छ । यतिबेला यो प्रदेशमै अंग्रेजीपछि सबैभन्दा बढी बोलिने दोश्रो भाषा नै नेपाली बन्न पुगेको स्थानीय रेकर्डले दर्शाउँछ ।

केही वर्षअघिसम्म दोश्रो बढी बोलिने भाषा चिनियाँ रहेकामा पछिल्लो समय भुटानी शरणार्थीहरूको समेत आप्रवासन गराइएपछि र नेपालबाटै आएका तन्नेरीहरुरू पनि बढ्दै गएपछि चिनियाँहरुरूभन्दा बढी नेपालीभाषी देखिएका हुन् ।

विशेषगरी अष्ट्रेलिया र फ्रान्सका नाविकहरूको निम्ति एन्टार्कटिका यात्रा गर्दाको यो बिसौनीरूपी सहर प्रशान्त महासागरको गहिरो किनारासँग जोडिएको छ ।

‘यति महत्वको स्थानमा यहाँ बोलिने दोश्रो भाषा नेपाली रहेको थाहा पाएर असाध्यै गौरव महशुस भएको छ,’ मुख्य गायक एवं ब्याण्डका अगुवा अमृत गुरुङले दर्शकसँग संवाद गर्दै भनेका थिए, ‘भाषा रहे मात्र हाम्रो पहिचान रहने भएकाले यो भाषालाई आउने सन्ततिसम्मै जोगाएर विस्तार गरौँ है ।’

दोश्रो प्रस्तुतिका रूपमा ‘छेक्यो छेक्यो’ र त्यसपछि पनि क्रमशः ‘भेँडाको ऊन’ र ‘लामपाते सुरती’ हुँदै अघि बढेको कन्सर्ट अवधिभर नेपथ्यले उसका पुराना र नयाँ गीतहरू सुनाउँदै गएको थियो ।
।
स्थानीय ‘रेडियो होबार्ट’की कार्यक्रम सञ्चालिका एलिजा पंगेनीले पहिलोपटक नेपथ्यको कन्सर्ट हेरेको र यो अनुभव नै गज्जबको भएको प्रतिक्रिया दिइन् । ‘एकातिर गीत संगीतले मञ्चका कलाकार र दर्शक यसरी एकाकार भएको देख्दा आश्चर्य लाग्दै थियो भने अर्कोतिर ब्याण्डले फैलाइरहेको मानवताको संदेश असाध्यै प्रभावकारी लाग्यो,’ उनले थपिन्, ‘सायद त्यसैले गर्दा पनि अलिक महँगो टिकट काटेर भए पनि यति धेरै दर्शकहरू नेपथ्यलाई हेर्न आएका रहेछन् भन्ने बुझ्न सजिलो भयो ।’
कन्सर्ट हेर्न आउनेमध्येमै रोयल होबार्ट हस्पिटलका मनोचिकित्सक डा. दिप मल्ल पनि थिए । ‘मानशिक स्वास्थ्यका निम्ति संगीत आफै पनि उपचारमा उपयोगी एउटा बलियो साधन हो,’ डा. मल्ल भनिरहेका थिए, ‘नेपालीहरूलाई संगीतका माध्यमबाट उनीहरूको मूल्य, मान्यता, संस्कृति र पहिचानको अनुभूति दिलाएर मनोरञ्जन गराउनु नेपथ्य कन्सर्टको उल्लेखनीय योगदान भएको मैले पाएँ ।’ विदेशमा आएर एक्लो महशुस गरिरहेका धेरै मानिसका लागि यस्तो जमघट असाध्यै उपयोगी हुने उनको निश्कर्ष थियो ।
कन्सर्टका बेला सँधैजस्तै नेपथ्यका मुख्य गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए । यस वर्ष जारी अष्ट्रेलिया यात्राका दौरान तासमानियाको यो कन्सर्ट श्रृंखलामध्येको आठौँ प्रस्तुति थियो । यसअघि डार्बिन, एडिलेड, ब्रिसबेन, क्यानबेरा, पर्थ, सिड्नी र मेलबर्नमा सफलताका साथ कन्सर्ट सम्पन्न भइसकेका छन् ।
दर्शक संख्यामा सदैव गुणात्मक वृद्धि देख्दै आएको सिड्नीमा यसपटक पाँच हजारभन्दा बढी दर्शक जुटाएर नेपथ्यले नयाँ मानक कायम गरेको छ । तासमानियामा अन्तिम प्रस्तुति सम्पन्न भएसँगै ब्याण्ड, प्राविधिक र व्यवस्थापनसहितको १३ सदस्यीय टोली यसै साता मेलबर्न हुँदै स्वदेश फर्कनेछ ।
(यो खबर नेपथ्यले तयार पारेको हो । प्रथम पटक प्रकाशन भएको समाचार यहाँ हेर्नुहोस।
