अस्ट्रेलिया । अस्ट्रेलियाको सिड्नीको दक्षिणी क्षेत्रमा भएको भीषण आगलागीमा पेट्रोल पम्प, इन्धन ट्याङ्कर र कैयौँ कारहरू जलेर नष्ट भएका छन् ।
रातिको समयमा भएको आगलागी नियन्त्रणमा लिन क्याम्पबेलटाउन पेट्रोल पम्पमा १६ वटा अग्नि नियन्त्रक दमकल तथा ६० अग्नि नियन्त्रकलाई खटाइएको थियो । आगलागीका कारण कैयौँ घरमा क्षति पुगेको तथा विष्फोटका कारण घरहरू हल्लिएको स्थानीयवासीले बताएका छन् । तर आगलागीमा भने कोही पनि घाइते नभएको बताइएको छ ।
लिन्ड्से स्ट्रिट तथा डान स्ट्रिटनजिकै रहेको पेट्रोल पम्पमा राति १०.१५ बजे आगलागी भएको न्यू साउथ वेल्सका अग्नि नियन्त्रकहरूले बताए । प्रारम्भिक प्रतिवेदनअनुसार पेट्रोल पम्पको मुख्य भवन क्षतिग्रस्त हुनुका साथै एउटा पेट्रोल ट्याङ्कर, तीन वटा कार तथा कैयौँ एलपीजी सिलिन्डरहरू नष्ट भएको देखाएको छ ।
आगलागीका तस्बिरहरूले आगो दशौँ मिटरसम्म हावामा पुगेको देखाएको तथा अग्नि नियन्त्रकहरूले आगो निभाउन श्वासप्रश्वासका उपकरणहरू र फोमहरू प्रयोग गरेका थिए ।