नेपाल । वैशाखबाट वैदेशिक राेजगारीमा जान चाहनेले पालिकाहरूबाटै श्रम स्वीकृतिको आवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगारीका लागि व्यक्तिगत तथा पुनः श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै दिन सकिने भएको हो।
वैशाख १ गतेदेखि ७५३ वटै पालिकाबाट आवेदन दिन सकिने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । पालिकाहरूमा रहेका रोजगार सेवा केन्द्रमार्फत् आवेदन फारम भर्न सकिने मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिएका छन् ।
यसअघि सातवटै प्रदेशमा रहेका श्रम कार्यालयहरूबाट श्रम स्वीकृतिको कार्य अगाडि बढाइएको थियो । त्यसपछि पनि श्रमिकहरूलाई दुःख दिने, फाइलहरू अनावश्यक रूपमा अल्झाउने गुनासाहरू मन्त्रालयमा पुग्ने गरेको थियो ।
सोही आधारमा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नका लागि मन्त्रालयले यो निर्णय गरेको श्रम सचिव एकनारायण अर्यालले जनाएका छन् ।