उनीहरु  भन्छन, ‘हामी १ सय ७८ जना छौँ, एउटै कम्पनीमा मलेसिया आएको’ (भिडियो )

उनीहरु  भन्छन, ‘हामी १ सय ७८ जना छौँ, एउटै कम्पनीमा मलेसिया आएको’ (भिडियो )
नेपालआईज
२० चैत २०७९ १:४०

सुवास मिश्र । 


मलेसियास्थित क्वालालम्पुर विमानस्थल विश्वकै व्यस्त मध्येको एक हो । स्थानीय समय बेलुकाको ७ बजे, पङ्क्तिकार अस्ट्रेलियाबाट नेपाल फकिँदै गरेका नेपाली अभिभावकहरूसँग गफिँदै थियो । नेपालको राजनीति बिग्रिँदै जाँदा युवाहरू बिदेसिनु परेको, देशको अर्थतन्त्र रेमिट्यान्सले धानेको, नेपालमा कृषिजन्य उत्पादन कम हुँदा आयात आकासिएको, निर्यात व्यापक घटेको जस्ता विषयमा गफिँदै थिए । अस्ट्रेलियाबाट फर्केकाहरू अधिकांश आफ्ना नातिनातिनीका कुरा गर्दै काठमाडौँ जाने विमान कुरिरहेका थिए । यत्तिकैमा अगाडिबाट युवाहरूको लस्कर आयो र सबै जनाको ध्यान त्यतै खिचियो । अगाडि एक रातो जर्सी लगाएका मलेसियन नागरिक जस्तो देखिने महिला र त्यसपछि भर्खर जुँगाको रेखी बसेका, सेतो र नीलो रङ मिसिएको टोपी लगाएका, हातमा फाइल बोकेका र झोला बोकेर लाइनमा मिलेर हिँडेका मानिसहरू देखिए । यी मानिसहरूलाई देखेर एडिलेडबाट काठमाडौँ फर्किँदै गरेका एक आमाले भन्नुभयो, ‘ए बाबु, यिनीहरू आर्मीमा जागिर खाने जस्तो देखिन्छ नि है !’ लस्करको बीचमा एक जनाले नेपाली झण्डा अंकित कालो मास्क लगाएको देखियो । कम्बोडियाबाट फर्किँदै गरेकी बिना सिलवालले, ‘नेपाली जस्तो देखिन्छ है ।’ भनेपछि लस्करको बीचबाट आवाज आयो, ‘नमस्ते’, ‘शुभयात्रा’, ‘हामी त भर्खर आइपुगेको, तपाईंहरू राम्रोसँग जानु होला’, आदि इत्यादि नेपाली आवाज सुनियो । ‘कति जना हो नेपालीहरू यो लस्करमा ?’ भन्ने एक अभिभावकको प्रश्नमा उत्तर आयो, हामी १ सय ७८ जना छौँ, एउटै कम्पनीमा आएका । सबै जना एक अर्कालाई हेरेर स्तब्ध भए । 

एक तथ्याङ्कअनुसार दैनिक औसत १८०० सय नेपाली कामदारहरू यसैगरी रोजगारीका लागि खाडी मुलुकमा जाने गरेका छन् । खाडी बाहेक अन्य मुलुकहरूमा अध्ययन र रोजगारीमा जाने युवाहरूको संख्या पनि कम छैन । तत्कालका लागि राष्ट्रले रेमिटान्समार्फत् राम्रो आम्दानी गरे पनि यसको असर नेपालको अर्थतन्त्रमा मात्र नभई सामाजिक, सांस्कृतिक र अन्य रूपमा दीर्घकालका लागि हुनेछ । यसमा सरोकारबालाहरूको ध्यान तत्काल जानु आवश्यक छ । नेपालीहरू विश्वका एक सय ७२ भन्दाबढी मुलुकमा छरिएर रहे तापनि मुख्य गन्तव्य मलेसिया र अअ अरव राष्ट्रहरू नै रहेका छन् । यी मुलुकहरूले नेपालको वैदेशिक रोजगारको करिब दुई तिहाइभन्दा बढी हिस्सा ओगटेका छन् । यो आलेख यिनै गन्तव्य मुलुकमा केन्द्रित रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर