न्युजिल्यान्ड । गैर-आवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्यान्डले आगामी ‘नेपाल फेस्टिभल २०२६’ को तयारी औपचारिक रूपमा सुरु गरेको छ। न्युजिल्यान्डमा नेपाली संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको यो बृहत् उत्सव सन् २०२६ अप्रिल १८ मा क्राइस्टचर्चमा हुने एनआरएनए न्युजिल्यान्डका अध्यक्ष डा. अच्युत अर्यालले जानकारी दिनुभयो।
एनआरएनए न्युजिल्यान्डको अगुवाइमा विभिन्न स्थानीय संघ–संस्थाहरू र क्लबहरूको सहकार्यमा रे ब्लान्क पार्क (Ray Blank Park) मा यस महोत्सव भव्यताका साथ सम्पन्न गरिने एनआरएनए न्युजिल्यान्डले जनाएको छ।
के-के हुनेछ फेस्टिभलमा ?
नेपाली कला, संस्कृति, भेषभूषा र मौलिक परिकारहरूले भरिएको यो महोत्सव न्युजिल्यान्डमा बसोबास गर्ने नेपालीहरूको सबैभन्दा ठूलो जमघट बन्ने अपेक्षा गरिएको छ। बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म चल्ने यस कार्यक्रमले नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिएको छ।
व्यवसायीहरूलाई अवसर
आयोजकहरूका अनुसार, यो विशाल कार्यक्रममा सहभागी भई आफ्नो ब्रान्डलाई उच्च स्थानमा पुर्याउन चाहने व्यवसायीहरूका लागि ‘गोल्ड स्पोन्सरशिप’ का सीमित अवसर खुला गरिएको छ।
एनआरएनए न्युजिल्यान्डले सम्पूर्ण न्युजिल्यान्डवासी नेपाली समुदायलाई महोत्सवको सफलताका लागि हातेमालो गर्न र यस ऐतिहासिक उत्सवमा सहभागी हुन आह्वान गरेको छ।