Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अस्ट्रेलिया प्रस्थान गरेकी भलिबल स्टार पुनम चन्दलाई ७ दिनभित्र हाजिर हुन नेपाल प्रहरीको निर्देशन
नेपालआईज
१३ जेठ २०८३ १४:००
काठमाडौँ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी खेलाडी तथा नेपाल प्रहरीकी जवान पुनम चन्दलाई नेपाल प्रहरी प्रधान कार्यालयले सात दिनभित्र कार्यालयमा हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ। बिना जानकारी विगत दुई महिनाभन्दा बढी समयदेखि ड्युटीमा अनुपस्थित रही अस्ट्रेलियामा क्लब भलिबल खेलिरहेको पाइएपछि प्रहरीले उनीविरुद्ध कारबाहीको प्रक्रिया अगाडि बढाएको हो।
प्रहरी प्रधान कार्यालयले जारी गरेको सार्वजनिक सूचना अनुसार, चन्द गत चैत महिनाको अन्तिमदेखि आफ्नो कार्यक्षेत्रमा अनुपस्थित छिन्। यसअघि उनको स्थायी ठेगानामा पठाइएका सूचनाहरूको कुनै जवाफ नआएपछि प्रहरीले सार्वजनिक रूपमा ७ दिने स्पष्टीकरण माग गर्दै उपस्थित हुन निर्देशन दिएको हो।
नेपाल पुलिस क्लब र राष्ट्रिय टोलीकी मुख्य ‘आउटसाइड हिटर’ पुनम चन्द हाल अस्ट्रेलियाको सिड्नीस्थित एक क्लबबाट भलिबल खेलिरहेको बताइएको छ। नेपालमा हालै सम्पन्न सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) महिला भलिबल च्याम्पियनसिपको प्रारम्भिक प्रशिक्षण टोलीमा उनी समावेश थियिन्। तर, प्रशिक्षणकै बीचमा उनी जानकारी नदिई अस्ट्रेलिया प्रस्थान गरेकी थिइन्, जसका कारण राष्ट्रिय टोलीमा उनको अनुपस्थिति खट्किएको थियो।
प्रहरी नियमावली अनुसार बिना जानकारी लामो समय कार्यक्षेत्रमा अनुपस्थित रहने कर्मचारीलाई विभागीय कारबाही गर्ने व्यवस्था छ। चन्दले यसअघि दिइएका चेतावनीहरूलाई बेवास्ता गरेपछि प्रहरीले यो कदम चालेको हो।
यो घटनाले पछिल्लो समय नेपाली महिला भलिबलका स्थापित र सिनियर खेलाडीहरू पलायन हुने, विशेषगरी अस्ट्रेलिया जाने बढ्दो ट्रेन्डलाई पुन: चर्चामा ल्याएको छ। धेरै अनुभवी खेलाडीहरूले देश छोडेपछि राष्ट्रिय टोलीमा युवा र कम अनुभवी खेलाडीहरूलाई समावेश गर्नुपर्ने चुनौती थपिएको खेल विश्लेषकहरू बताउँछन्।
प्रहरीले दिएको ७ दिनको समयसीमा भित्र पुनम चन्द नेपाल फर्किनेछिन् या छैनन् र अटेर गरेमा उनीमाथि कस्तो थप विभागीय कारबाही हुनेछ भन्ने कुरा भने स्पष्ट भइसकेको छैन।