न्युजिल्याण्ड / गैर–आवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्याण्डले ‘सगरमाथा दिवस’ (मे २९) लाई न्युजिल्याण्डमा औपचारिक रूपमा मान्यता दिन गरेको आग्रहप्रति त्यहाँका इथिनिक्स कम्युनिटी मन्त्री मार्क मिचेलले दिएको सकारात्मक जवाफको स्वागत गरेको छ।
प्रेस विज्ञप्तिमा भनिएको छ , मन्त्री मिचेलले सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको उपलब्धिको सम्मान गर्न मनाइने ‘सगरमाथा दिवस’ को महत्त्व स्वीकार गर्नुभएको छ। यद्यपि न्युजिल्याण्डमा परम्परागत रूपमा यस्ता विरासत दिवसहरूलाई औपचारिक रूपमा मनाउने प्रचलन नभए पनि उहाँले समुदायहरूलाई आफ्नै तरिकाले सांस्कृतिक तथा ऐतिहासिक अवसरहरू मनाउन प्रोत्साहित गर्नुभएको छ।
नेपाल–न्युजिल्याण्ड मित्रताको कदर
मन्त्री मिचेलले ‘सगरमाथा दिवस’ ले विश्वभरका मानिसहरूलाई कसरी प्रेरित गर्छ भन्ने कुरा उल्लेख गर्दै, नेपाल र न्युजिल्याण्डबीचको मित्रता, शेर्पा समुदायले पर्वतारोहणमा पुर्याएको अमर योगदान, तथा नाजुक हिमाली वातावरणको संरक्षणमा गरेको सकारात्मक भूमिका को प्रशंसा गर्नुभएको छ।
समुदायलाई आर्थिक सहयोग
मन्त्री मिचेलले जातीय समुदाय विकास कोषमार्फत नेपाली सांस्कृतिक कार्यक्रम तथा ‘सगरमाथा दिवस’ जस्ता उत्सवहरूलाई सहयोग गर्न २८४,००० न्युजिल्याण्ड डलर उपलब्ध गराएको जानकारी दिनुभएको छ। साथै, उहाँले समुदायलाई यस्ता कार्यक्रमका लागि आवेदन दिन प्रोत्साहित पनि गर्नुभएको छ।
एनआरएनए न्युजिल्याण्डको प्रतिक्रिया
एनआरएनए न्युजिल्याण्डका अध्यक्ष डा. अच्युत अर्यालले मन्त्री मिचेलको जवाफप्रति आभार व्यक्त गर्दै भन्नुभयो—
“हामी मन्त्री मिचेलप्रति ‘सगरमाथा दिवस’ को भावना र हाम्रो समुदायको निरन्तर योगदानलाई कदर गर्नुभएकोमा कृतज्ञ छौँ। ‘सगरमाथा दिवस’ केवल एउटा स्मरणोत्सव मात्र होइन; यो नेपाल र न्युजिल्याण्डबीचको मित्रता, साहस र साझा इतिहासको उत्सव हो। हामी यस विरासतलाई सम्मान गर्दै दुई देशको सम्बन्धलाई अझ गहिरो बनाउनेछौँ।”
एनआरएनए न्युजिल्याण्डले स्थानीय परिषद्हरू र व्यापक समुदायसँग सहकार्य गर्दै ‘सगरमाथा दिवस’ तथा अन्य सांस्कृतिक कोसेढुङ्गाहरू भव्य रूपमा मनाउँदै नेपाल–न्युजिल्याण्ड सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिवद्धता व्यक्त गरेको छ।