बण्डाबर्गः कुइन्स्ल्याडको तरकारी बारी

दीपक अर्याल । अस्ट्रेलियाका सुपर मार्केटहरूमा सजाएर राखिएका ताजा तरकारी, रसिला फलफूलहरू अनि प्रायः सबैको बैठक कोठामा सेट गरिएका बारमा सजिएका विभिन्न प्रकारका पेयपदार्थहरू कहॉ उत्पादन हुन्छन् होला भन्ने जिज्ञासा सधैँ रहिरह्यो ।
यसको उत्तरको खोजीमा हामी ब्रिस्वेन सहरबाट ३६५ किलोमिटर अर्थात् साढे चार घण्टाको यात्रा तय गरेर उत्तरी बाटो समात्यौँ-बण्डाबर्ग (Bundaberg) तर्फ । बाटोमा स-साना बजारहरू, वनजंगल, पार्कहरू पार गर्दै अघि बढ्यौँ । गिम्पी क्षेत्र (Gympie region) लगभग बीच तिर पर्दो रहेछ । यो पनि एउटा ठूलै पर्यटकीय व्यापारिक केन्द्र रहेछ । यहाँ सन् १८७० मा निर्मित भवनहरू अझै पनि खडा रहनुले यो सहर निकै पुरानो भएको पुष्टि गर्छ ।

दक्षिणी व्यारियर रिफसँग जोडिएको, कोरल सागर (Coral Sea) बाट १५ किलोमिटरमा अवस्थित बर्नेट नदी (Burnett) किनारमा लगभग २० किलोमिटरमा फैलिएको यो पुरानो बण्डाबर्ग सहर खास गरी Bundaberg Rum का लागि प्रसिद्ध छ । यहॉ झण्डै डेढ सय वर्ष पहिले स्थापित डिस्टिलरी (Distillery) कम्पनी रहेको छ ।

पर्यटकहरूका लागि परिसरभित्रै संग्रहालय तयार पारिएको छ, जहॉ उक्त मदिरा निर्माणको इतिहास उल्लेखित छ । त्यहॉका कर्मचारीले पर्यटकहरूलाई उद्योगमा लगेर मदिरा उत्पादन प्रकृया सविस्तार देखाउँछन् र अन्त्यमा सबैलाई आफ्नो उत्पादन सगौरव चाख्न दिन्छन् ।” हामी रम पिउँदैनौँ; कृपया हामीलाई अलिकति खुदो चाख्न दिनुहोस् न है ? मैले अनुरोध गरेँ । उद्योग अवलोकनका क्रममा खुदोको भण्डारबाट आएको वास्ना अझै नाक वरपर घुमिरहेको थियो ।

बालक कालमा पहाडमा बस्दा ऊखु पेल्ने कोलमा गएर पेटभरि सखर चाट्दै खुदो पिएको याद आयो । हाम्रो अनुरोध सुनेर टुरिष्ट गाइड छक्क परेको भावमा हामीलाई हेर्यो र भन्यो,‘खुदो त मिल्दैन बरु सफ्ट ड्रिंक लिनुहोला, हुन्न ?’ हामीले टाउको हल्लाउँदै, ‘हुन्छ’ भन्यौँ । रम बनाउने उक्त उद्योगको कच्चा पदार्थका लागि सहर बाहिरको फराकिलो फाँटमा व्यापक रूपमा उखू खेती गरिएको छ ।

त्यस्तै, नजिकै जिन्जर वियर उद्योग पनि स्थापना गरिएको छ । यहाँ अदुवालगायत विभिन्न मसलेदार जडीबुटीको स्वाद आउने कोल्ड ड्रिंकहरू उत्पादन गरिन्छ । यस उद्योगमा चाहिँ पर्यटकहरूलाई खास निर्माणस्थलमा लगिँदो रहेनछ; बरु छुट्टै भवनमा उक्त पेयपदार्थहरू तयार पार्ने प्रकृयाहरूको जीवन्त प्रदर्शन गरिँदो रहेछ ।

त्यहाँ सार्वजनिक रूपमा खुला राखिएका बोटानिक गार्डेन, गार्डेनभित्रका पोखरीहरूमा चराचुरुङ्गी एवं कछुवालगायतका संरक्षित घस्रने जीवहरूको चहलपहल, चिडियाघर अनि ऐतिहासिक धरोहर बोकेका पार्कहरू अत्यन्तै सुन्दर छन् ।

सशुल्क प्रवेश गर्न सकिने ऐतिहासिक संग्रहालय (Historical Museum) ले यस क्षेत्रको आजसम्मको इतिहासको हरेक पाना पल्टाएर राखिदिएको छ । तर संग्रहालयभित्र फोटो खिच्ने अनुमति थिएन । सहरबाट पन्ध्र मिनेटको गाडीको यात्रामा बाहिर निस्केपछि खेतीका फाँट हुँदै साँझपख हामी एउटा सानो ज्वालामुखीबाट निर्मित बतासे टाकुरोमा पुगियो । यसलाई ह्यूमक लुकआउट (Hummock Lookout) भन्दा रहेछन् ।


यहाँबाट पर क्षितिजमा महासागर त वरिपरी फराकिला रातामाटे फाँटमा आधुनिक प्रविधि युक्त खेती गरिएका दृष्यहरू प्रस्ट देखिँदा रहेछन् । यतिखेर, उखु, आँप, भटमास, सखरखण्ड, वदाम, आलु, हरिया सागपातहरू, म्याक्याडमिया (Macadamia) जस्ता नगदेबालीहरूले जमिन सजिएका छन् । भूमिगत सिँचाइ प्रणालीबाट छर्कने विधिमार्फत् यी फाँटहरूमा सिँचाइ गरिएको छ । म्याक्याडमिया एक प्रकारको हरियो फल (लगत) हो, जसको गुदीबाट विभिन्न प्रकारका मिठाइका परिकारहरू बनाइन्छ ।

सूर्यास्तको सुन्दर दृष्यलाई मानसपटलमा कैद गर्दै हामी वासस्थानतर्फ फर्कने क्रममा साँझमा एक जना कृषकको घरमा पसेर परिवारसँग संक्षिप्त कुराकानी गर्यौँ । नेपालका किसान जस्तै उनी पनि त्यहॉको बजार व्यवस्थापनको बारेमा दुखेसो पोख्दै थिए- ‘हाटबजारमा त हाम्रो उत्पादनको राम्रो मूल्य पाइन्छ, तर ठूलो परिमाणमा भएको उत्पादनको बिक्री त्यहाँबाट मात्र सम्भव छैन । फाइदाको ठूलो हिस्सा सुपरमार्केटहरूले लिन्छन्, हामी कहाँ छिटाछिटी आइपुग्छ ।” तर पनि उनको जीवनस्तर हेर्दा नेपाली किसानको भन्दा धेरै माथि देखिन्थ्यो ।

उनको फार्ममा दुई जना नेपाली विद्यार्थीले पनि आंशिक समय काम गर्ने गरेको बताउँदै नेपालीहरूको मेहतनको मुक्तकण्ठले प्रशंसा गर्दै थिए उनी । हामीसँग थप कुराकानी गर्न र आफ्नो कृषि फार्म देखाउन उनीहरूले तत्परता देखाए, तर झमक्क साँझ परिसकेको थियो ।” कृपया, भोलि नौ बजे यहीँ भेटौँ,” उनले अनुरोध गरे, तर हामीसँग समय थिएन । भोलि बिहानै बण्डाबर्गलाई बाई गरेर क्लेफिल्ड फर्कनु थियो ।
