सिड्नी । अस्ट्रेलियाको सिड्नीस्थित अर्बनमा बस्दै आएकी २१ वर्षीया एक नेपाली विद्यार्थीको हृदयाघातका कारण निधन भएको छ ।
अबर्नमा साथीहरूसँग बस्दै आएकी जेलुसा तेयुङ लिम्बुको सोमबार बिहान निधन भएको हो । उनीसँगै बस्दै आएकी साथीले परिवारलाई जानकारी गराएअनुसार आइतबार रातिसम्म ठिकै भए पनि सोमबार बिहान खाटबाट खसेको अवस्थामा भेटेपछि प्यारामेडिक- एम्बुलेन्स बोलाइएको थियो ।
तर, प्यारामेडिकले घटनास्थलमै मृत घोषणा गरी प्रहीलाई खबर गर्न सुझाव दिएका थिए । उनी पारामटास्थित आईआई कलेजमा अध्ययनरत थिइन् । नेपाल आइजको सम्पर्कमा रहेका उनका दाजुले भने, ‘जेलुसाको अकल्पनीय निधनको खबरले हामी मर्माहत भएका छौँ ।’ उनकी साथीले गो फण्ड मी मार्फत् जेलुसाको पार्थिव शरीर परिवारसम्म पुर्याउन आर्थिक संकलन सुरु गरेकी थिइन् ।
पार्थिव शरीर नेपाल पठाउन आवश्यक ११ हजार डलर गो फण्ड मी मार्फत् जम्मा भइसकेकाले रकम संकलन बन्द गरिएको एनआरएनए न्यू साउथ वेल्सका युवा संयोजक बिक्रम दाहालले नेपाल आइजलाई जानकारी दिए ।
जेलुसाको पार्थिव शरीर हाल लिडकमस्थित यूरो फियूनरल सेन्टरमा राखिएको छ। प्रक्रिया पुर्याएर छिटै शव नेपाल पठाउने युवा संयोजक दाहालले नेपाल आइजलाई बताए ।