अस्ट्रेलिया । अस्ट्रेलियाका विद्यार्थी र पढाई पूरा गरेका विद्यार्थीहरूको ऋण हजारौँ डलरले बढ्ने भएको छ । सिनेट अनुसन्धानले ऋणमा ‘इन्डेक्सेसन फ्रिज’ गर्ने प्रस्ताव अस्वीकार गरेपछि विद्यार्थीहरूको ऋण बढ्ने भएको हो ।
एचईसीएस-एचईएलपी तथा व्यावसायिक शिक्षा ऋणहरूमा इन्डेक्सेसन जुन १ बाट जीवनयापनको लागत वृद्धिको आधारमा ७ प्रतिशतसम्म बढ्ने अपेक्षा गरिएको छ ।
ग्रीन्स सिनेटर मेहरीन फारुकीले गत वर्ष इन्डेक्सेसन पज गर्न र रिपेमेन्ट थ्रेसहोल्ड बढाउन बिल पेश गरेकी थिइन् । उक्त प्रस्तावमाथिको सिनेटको छानबिनले सोमबार उक्त विधेयक अस्वीकृत गरेको हो ।
हाल संघीय सरकारको विश्वविद्यालय र व्यावसायिक शिक्षा ऋणमा ७५ बिलियन डलरभन्दा बढी बाँकी छ । एचईसीएस-एचईएलपी ऋणहरूको संख्या तीव्र रूपमा बढेको छ । सन् २०१६ मा ६ लाखभन्दा बढी ऋणबाट सन् २०१९ मा लगभग ८ लाख ३० हजार ऋण पुगेको थियो ।