एनआरएनए अस्ट्रेलियाको अध्यक्ष पदमा दुई युवाको उम्मेदवारी घोषणा

एनआरएनए अस्ट्रेलियाको अध्यक्ष पदमा दुई युवाको उम्मेदवारी घोषणा
नेपालआईज
२४ जेठ २०८० ११:४७

अस्ट्रेलिया । गैरआवासीय नेपाली संघ एनआरएनए अस्ट्रेलियाको अध्यक्ष पदका लागि दुई युवाले उम्मेदवारी घोषणा गरेका छन् ।

प्रवासमा रहँदै आएका युवाहरू डिला खरेल र अनिल पोखरेलले उम्मेदवारी घोषणा गरेका हुन् । सामाजिक सञ्जालमार्फत् उम्मेदवारी घोषणा गर्दै खरेलले यो संस्थामा १५ वर्षदेखि आबद्ध रहेकाले अध्यक्ष पदका लागि आफू योग्य रहेको दाबी गरेका छन् ।

उनले एनआरएनए अस्ट्रेलियाले धेरै राम्रा कामहरू गर्दै आएको भन्दै यस संस्थालाई अब अनुभवी, लगनशील, वौद्धिक र उर्जाशील नेतृत्व आवश्यक रहेको पनि जनाएका छन् । पूर्वकोषाध्यक्षसमेत रहेका खरेलले यो संस्थाप्रतिको लगाव, माया, सद्भाव र स्नेहका कारण नेतृत्व लिन खोजेको भन्दै गैरआवासीय नेपालीहरूको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले अध्यक्ष पदमा निर्वाचित गराउन सबैको सहयोग रहने पनि विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै, अध्यक्ष पदका अर्का उम्मेदवार अनिल पोखरेलले यो संस्थामा करिब १० वर्षदेखि आबद्ध रहेको भन्दै यस अवधिमा आफ्नो क्षमता र समयले भ्याएसम्म सामाजिक योगदान गरेको बताएका छन् ।

पोखरेलले एनआरएनएलाई संस्थागतीकरण, प्रविधिमैत्री, आर्थिक पारदर्शिता, कुशल संस्थागत प्रक्रिया, श्रोतको पहुँच, विभिन्न तहका सरकारसँग सम्बन्ध विस्तारलगायत काममा आफूले योगदान गरेको पनि बताएका छन् ।

चार वर्षदेखि कोषाध्यक्षका रूपमा एनआरएनए अस्ट्रेलियाको जिम्मेवारी सम्हालेका पोखरेलेले संस्थाको दिगो समयसेवाको अवधारणाका लागि अध्यक्ष पदमा निर्वाचित गराउन सबैसँग अनुरोध गरेका छन् ।

अध्यक्ष पदमा चुनिएपछि आफूले गर्ने कामका योजनाहरूको विस्तृत विवरण पछि सार्वजनिक गर्ने पनि पोखरेलले जनाएका छन् ।

जुलाई २९ मा एनआरएनए अष्ट्रेलियाको निर्वाचन हुन गइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको