एनआरएनए वेस्ट्रन अस्ट्रेलियाको संयोजकमा पर्थका सुनिल श्रेष्ठद्वारा उम्मेदवारीको घोषणा

एनआरएनए वेस्ट्रन अस्ट्रेलियाको संयोजकमा पर्थका सुनिल श्रेष्ठद्वारा उम्मेदवारीको घोषणा
नेपालआईज
३० जेठ २०८० ६:१६

अस्ट्रेलिया । गैरआवासीय नेपाली संघ एनआरएन अस्ट्रेलियाको चुनाव नजिँकिएसँगै विभिन्न पदमा उम्मेदवारीहरू पनि घोषणा हुन थालेका छन् । उनीहरूले उम्मेदवारी घोषणाका साथै आफ्ना प्रतिबद्धताहरू पनि सार्वजनिक गर्न थालेका छन् ।

यसैक्रममा एनआरएनए वेस्ट्रन अस्ट्रेलियाको संयोजकमा पर्थका सुनिल श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । उनले एजेण्डाहरू पनि सार्वजनिक गरेका छन् ।

यस्तो छ श्रेष्ठको उमेदवारी घोषणा र एजेण्डाहरू:

नेपाली समुदायका आदरणीय महानुभावहरू !
नमस्ते ।

अष्ट्रेलिया बस्ने नेपाली समुदायका अधिकांश साथीहरूले मलाई चिन्नुहुन्छ । नेपालबाट विदेशिएपछि एक अर्को नेपाली देख्नासाथ बढ्ने सम्मान र सम्मोहनले हामीलाई पक्कै छोएकै छ ।

म विगत १४ वर्षदेखि वेस्टन अष्ट्रेलियामा बसोबास गरिरहेको छु । मेरी श्रीमती, एक छोरी र एक छोराका साथ । मेरो वाल्यकाल काठमाडाैँ र दोलखामा बित्यो । स्कुले जीवन मैले दोलखा चरिकोट र कलेज भने काठमाडाैँ पढेँ ।

पारिवारिक वातावरण व्यावसायिक भएकाले मैले सानैदेखि व्यापारमा संलग्न हुनै मौका पाएँ । संयोग नै भनौँ, त्यही पृष्ठभूमिले गर्दा हामी सपरिवार यहाँ आएर विगत नौ वर्षदेखि ब्लिस म म क्याफे एण्ड रेष्टुरेन्ट सञ्चालन गरिरहेको छु ।

विद्यार्थी भिसामा नेपालबाट अष्ट्रेलिया आउँदा हुने कठिनाइ र संघर्ष म आफैंले भाेगेकाे छु । त्यस‌ले विद्यार्थीका समस्या र समाधानका लागि गर्नुपर्ने जिम्मेवारीकाे विषयमा मलाई जानकारी छ ।

नेपालमा भूकम्प जाँदा हाेस् वा काेभिडकाे महामारीमा हाेस् मैले आफ्नाे तर्फबाट सक्दाे सहयाेग पुर्‍याएकाे छु । भूकम्पको मारमा परेका बेला Kwinana Labour Party र NRNA काे संयुक्त आयाेजनामा नेपाली समुदायलाई पुर्‍याएकाे याेगदान स्मरण गर्न चाहन्छु । मलाई थाहा छ, मलाई मातृभूमिले धेरै दिएको छ । अब म मातृभूमिका लागि दिन चाहन्छु ।

थोरै भए पनि आफ्नो सिप, क्षमता र ज्ञान म समाजसेवाका माध्यामबाट बाँड्न चाहन्छु । त्यसैले मैले एनआरएनएको माध्यमबाट सेवा गर्ने अठोट लिएको छु । म विगतमा एक पटक कार्यकारी सदस्य र एक पटक सहसंयोजक भई सेवा गरिसकेको छु । अब म वेस्टन अष्ट्रेलिया राज्य परिषदको संयोजकको रूपमा तपाईँहरूको सेवा गर्न चाहन्छु । त्यसैले मैले वेस्टन अष्ट्रेलिया राज्य परिषदको संयोजक पदमा उमेदवारी दिने निर्णय गरेको छु ।

मेरा एजेण्डाहरू

१. हामी नेपालीहरूको सांस्कृतिक एवं रीतिथितिलाई सम्मान गर्दै अस्ट्रेलियामा बस्ने नेपाली माझ हाम्रो सांस्कृतिक महत्व र गरिमालाई अझै उच्च राख्ने प्रण गर्दछु ।

२. नेपालबाट आएका विद्यार्थीहरूले झेल्नु परेको कठिनाइलाई आत्मसात गर्दै सम्पूर्ण नेपाली विद्यार्थीको समस्यालाई मेरो आफ्नै समस्या ठानेर समाधानका लागि प्रयत्नशील रहने छु । यसका लागि अष्ट्रेलियास्थित विभिन्न संघसंस्थासँग मिलेर उनीहरूका समस्यालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

३. पशुपतिनाथ र बौद्धनाथको मन्दिरका लागि पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता प्रकट गर्दछु ।

४.ओएनएसएम गेमका लागि आवश्यक पर्ने सबै खालको सहयोग र समन्वयका लागि पूर्ण प्रतिबद्ध रहेको घोषणा गर्दछु ।

५. स्टुडेन्ट एक्सचेन्ज प्रोग्रामका माध्यामबाट नेपाल र अष्ट्रेलियाका विद्यार्थीहरूबीच सांस्कृतिक र पर्यटकीय अनुभवको आदनप्रदान होस् भन्ने अभिप्रायले स्टुडेन्ट एक्सचेन्च प्रोग्राम सञ्चालनका लागि पूर्वाधार तयार गर्न प्रयत्नशील हुनेछु ।

सधैँ तपाईँहरूको सेवामा रहने तपाईँको मित्र
सुनिल श्रेष्ठ
संयोजक पदको उमेदवार
वेस्टर्न अष्ट्रेलिया राज्य परिषद्, एनआरएनए, अष्ट्रेलिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको