Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०२३ सफलतापूर्वक सम्पन्न
नेपालआईज
३१ जेठ २०८० १६:३१
अस्ट्रेलिया । अस्ट्रेलियामा भएको अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०२३ सम्पन्न भएको छ । मेलबर्नस्थित नेपालीहरूको संस्था फेडेरेसन अफ नेपलीज कम्युनिटी एशोसियसन अफ अष्ट्रेलिया (फेन्का) को भिक्टोरिया राज्य समितिले गरेको अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०२३ सम्पन्न भएको हो ।
सामुदायिक भावना र ग्लोबल वार्मिङसम्बन्धी जनचेतना प्रबर्द्धन र सगरमाथाको उचित संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको थियो ।
सम्मेलनमा सगरमाथा र जलवायु परिवर्तन विषयक चित्रकला प्रतियोगिता, सगरमाथा र ग्लोबल वार्मिङ सचेतनाका लागि पदयात्रा, ग्लोबल वार्मिङको असर र यसको रोकथामका लागि उपायहरूका बारेमा छलफललगायत बारबेक्युको आयोजना गरिएको थियो ।
सगरमाथा र जलवायु परिवर्तन विषयक चित्रकला प्रतियोगितामा मेल्बर्नका विभिन्न क्षेत्रमा सञ्चालित हाम्रो नेपाली पाठशाला, न्याभ बाल चौतारी नर्थ, इडब्ल्यूएनसी बाल बाटिका, न्याभ बाल चौतारी वेस्ट, क्रेनबर्न ज्ञानज्योति पाठशाला, न्याभ बाल चौतारी डोरेन मेरंडा, क्रेगिबर्न नेपाली एथनिक विद्यालय तथा बाल संसार ग्लेंरोय गरी आठ वटा नेपाली विद्यालयहरूको सहभागिता रहेको थियो । जसमा विभिन्न उमेर समूहअन्तर्गत ५- ८, ९-१२ र १३-१६ वर्षका विद्यार्थीहरूको छुटा–छुट्टै ग्रुप बनाई प्रतियोगिता गरिएको थियो । उमेर ५-८ वर्षको समूहमा ९८ जना, ९-१२ वर्षको समूहमा ९५ जना र १३-१६ वर्षको समूहमा ११ विद्यार्थीले भाग लिएका थिए ।
चित्रकला प्रतियोगितामा नेपालका ३ जना निर्णायक मण्डलमा राष्ट्रिय ललितकला संघका वर्तमान अध्यक्ष दीपेन्द्र बनेपाली, विभिन्न विद्यालयमा चित्रकला अध्यापन गराउँदै आएका नेपाल कमर्सियल आर्टिस्ट संघका सदस्य मनोजकुमार राना मगर र चित्रकला तथा मूर्तिकलामा विद्यावारिधि गरिरहेका सुधन श्रेष्ठ रहेका थिए ।
उनीहरूले प्रतियोगितामा सहभागी विभिन्न उमेर समूहका प्रथम, द्वितीय तथा तृतीय प्रतियोगीहरूको चयन गरेका थिए । विजयी विद्यार्थीहरूमध्ये ५-८ उमेर समूहबाट न्याभ बाल चौतारी वेस्टका शायना चालिसे प्रथम, इडब्ल्यूएनसी बाल बाटिकाका साहना अर्याल द्वितीय तथा क्रेनबर्न ज्ञानज्योति पाठशालाका आरभ अधिकारी तृतीय भएका थिए भने ९-१२ उमेर समूहबाट न्याभ बाल चौतारी नर्थका प्रेक्षा रिजाल प्रथम, न्याभ बाल चौतारी नर्थकै शान नेउपाने द्वितीय तथा इडब्ल्यूएनसी बाल बाटिकाका सलिना कंडेल तृतीय भएका थिए ।
त्यसैगरी १३-१६ उमेर समूहबाट हाम्रो नेपाली पाठशालाका क्रमश: सुरेजा श्रेष्ठ प्रथम, ओलिभिया लामिछाने द्वितीय र निर्भान शिवाकोटी तृतीय भएका थिए ।प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई सिटीमा अवस्थित यारा रिभर पार्कमा मे २८ मा विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरूले प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका थिए ।
फेंका भिक्टोरियाका राज्य संयोजक भोला गिरीले कलात्मक अभिव्यक्ति र सामुदायिक संलग्नतालाई प्रबर्द्धन गर्न संस्था प्रतिबद्धता रहेको जनाएका थिए । उनले चित्रकला प्रतियोगिताले सबै बालबालिकालाई समेट्न, सगरमाथा र क्लाइमेट चेन्जका बारेमा उनीहरूको भावना चित्रमार्फत् पोख्न र उनीहरूमा भएको क्षमतालाई उजागर गर्ने मौका प्रदान गर्न पाउँदा खुसी लागेको बताए ।
त्यस्तै, फेन्काका उपाध्यक्ष बम योन्जनले अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०२३ कार्यक्रममा उपस्थित प्रमुख अतिथि बहुसांस्कृतिक मामिलामन्त्री माननीय सांसद डा. कोलिन ब्रुक्सलगायत विभिन्न नेपाली सामुदायिक संस्थाका प्रतिनिधिहरूलाई धन्यवाद दिएका थिए ।
त्यस्तै, चित्रकला प्रतियोगिता सफल रूपमा सञ्चालन गर्न संयोजकको भूमिका निर्वाह गरेका न्याभ बाल चौतारीका वेस्टका संयोजक सुशील चालिसे, विद्यालयहरूका संयोजक, शिक्षक, विद्यार्थीहरू र स्वयंसेवकहरूलाई पनि धन्यवाद दिएका थिए ।
त्यसैगरी, नेपाल भ्रमणमा रहेका फेंका अस्ट्रेलियाका कोषाध्यक्ष राजन कोइरालाले चित्रकला प्रतियोगिताका निर्णायक मण्डल दिपेन्द्र बनेपाली, मनोजकुमार राना मगर र सुधन श्रेष्ठलगायत नेपालमा निर्णायक मण्डलको संयोजन गर्न मुख्य भूमिका निर्वाह गरेका मोडर्न उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक अनिल कस्पाललाई खादा, मायाको चिनो र प्रमाणपत्र हस्तान्तरण गरेका थिए । साथै, कोषाध्यक्ष कोइरालाले फेंका भिक्टोरियाको आयोजनामा संचालित चित्रकला प्रतियोगिता सफल रूपमा समापन गर्न मुख्य भूमिका निर्वाह गरेकोमा सबैलाई संस्थाको तर्फबाट धन्यवाद दिएका थिए ।