रगत अभाव हुन नदिन अस्ट्रेलियामा जुटे नेपालीहरू

रगत अभाव हुन नदिन अस्ट्रेलियामा जुटे नेपालीहरू
नेपालआईज
३ असार २०८० ९:१४

अस्ट्रेलिया । कर्म थलो अस्ट्रेलिया बनाएका नेपालीहरूले विभिन्न सामाजिक काममा सक्रियता देखाउँदै आएका छन् । उनीहरूले नेपाली समुदायका लागि मात्र नभई अस्ट्रेलिया सरकारका विभिन्न कार्यक्रममा समेत सामाजिक कार्यमार्फत् सहयोग गरिरहेका हुन्छन् ।

यसैक्रममा नेपाली समुदायले पछिल्लो समय रक्तदान कार्यक्रमार्फत् रगत अभाव कम गर्न सहयोग गरेको छ । जन्मथलो नेपाल भए पनि आफ्नो कर्मथलोमा बिरामीलगायतलाई रगत अभाव हुन नदिन नेप्लिज ब्लड डोनर्स एसोशियन(NBDA) अस्ट्रेलियाले पछिल्लो समय विश्व रक्तदाता दिवस २०२३ को अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ ।

“नियमित रूपमा रगत तथा प्लाज्मा दान गरौँ जीवन बचाउने कार्यमा हातेमालो गरौ” भन्ने नाराका साथ लाइफ ब्लड सेन्टर, टाउनहल सिडनीमा रक्तदान कार्यक्रम गरियो । कार्यक्रममा ३ जनाले प्लाज्मा दान गरेका थिए भने ७ जनाले रक्तदान गरेका थिए ।

प्लाज्मा दान गर्नेमा भुपाल सिटौला, प्रकाश लामिछाने र सरोज पाण्डे छन् । त्यस्तै होल ब्लड प्रदान गर्नेमा क्रमश: मुक्तिराम पोखरेल, सीमा थापा,बाबुराम पोखरेल, दिनेश पोखरेल, चन्द्रप्रसाद ढकाल, उमेश पोखरेल र प्रदिप खनाल छन् ।

कार्यक्रमका संयोजक एंव एसोसियनका उपाध्यक्ष मुक्तिराम पोखरेलले स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । अस्ट्रेलियामा हुने रगतको अभावलाई परिपूर्ति गर्न यस्ता कार्यक्रम निरन्तर गरिरहने र जो कोही पनि इच्छुकले आफ्नो पायक पर्ने ब्लड सेन्टरमा गएर NBDA को नामबाट निरन्तर रूपमा रक्तदान गर्न सक्ने अध्यक्ष भुपाल सिटौलाले जानकारी दिए ।

कार्यक्रममा एसोसियनका सल्लाहाकार, समाजसेवी एवं प्रतिष्ठित व्यवसायी दिनेश पोखरेल, रुपन्देही सामाजिक संञ्जाल (RSNA) अस्ट्रेलियाका स्पोर्टस् कोर्डिनेटर सरोज पाठक, एसोसिएसनका सचिव चन्द्रप्रकाश ढकाललगायतले धारणा राखेका थिए ।

उनीहरूले मानव जीवन बचाउने जस्तो महत्वपूर्ण “रक्तदान जीवनदान “जस्तो पुण्य कार्य गरेकोमा NBDA ले कार्यको प्रसंसा गरेका थिए । अन्य संघ संस्थाहरूले पनि NBDA सँग सहकार्य गरी रक्तदान एवं उत्प्रेरणामुलक कार्यक्रमहरू गर्न आह्वान गरिएको थियो ।

कार्यक्रममा एसोसियन अष्ट्रेलिया NBDA का महासचिव प्रकाश लामिछानेलगायत नेपाली समुदायहरू सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको