सिड्‍नीमा ध्यान, योग र प्रेरणा शिविर सम्पन्न

सिड्‍नीमा ध्यान, योग र प्रेरणा शिविर सम्पन्न
नेपालआईज
१२ असार २०८० ८:०७

नेपाल । अस्ट्रेलियाको सिड्‍नीमा ध्यान, योग र प्रेरणा शिविर गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको टास्क फोर्स, विद्यार्थी सहयोग कमिटीको आयोजनामा शनिबार भएको एकदिवसीय शिविर सम्पन्न भएको हो ।

शिविरमा योग प्रशिक्षक आचार्य राजन शर्माले व्यस्त र बदलिँदो जीवनशैलीका कारण मानिसहरू विभिन्न रोगबाट ग्रसित हुने गरेको भन्दै योग साधनालाई हरेक दिन प्रयोग गर्नुपर्ने बताए ।

उनले योगलाई दैनिक एकघण्टा समय दिनुपर्नेमा पनि जोड दिए । स्वस्थ्य खानपान र अनुशासित जीवनशैलीसँगै योगलाई दैनिक जीवनको एउटा महत्वपूर्ण हिस्सा बनाउन सक्ने व्यक्ति नै सफल हुने उनको भनाइ थियो ।

त्यस्तै, ध्यान प्रशिक्षक प्रकाश भट्टराईले प्रेरणादायी ध्यानसम्बन्धी प्रशिक्षण दिँदै ध्यानका बहुआयामिक फाइदाका विषयमा चर्चा गरेका थिए । कार्यक्रमका संयोजक बद्री बरुवालले सिड्नीमा नेपाली समुदाय माझ पछिल्लो समय योग र ध्यान गर्ने संस्कार हुर्किँदै गएकाले अध्ययन र कामसँगै बढ्ने मानसिक तनाव कम गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताए ।

त्यसक्रममा उपसंयोजक चिरन्जिवी तिवारीले भने, ‘निकै उत्साहजनक सहभागिता थियो । हामीले नियमित योगसाधानको सम्भावना देखेका छौँ, घरमै पनि योग गर्न सकिने भएकाले शिविरमा सहभागीलाई थप सहज भएको छ ।’ त्यस्तै, सचिव अमृत शर्माले भने, ‘कार्यक्रममा उल्लेखनीय उपस्थिति देखेर हामी हर्षित भएका छौँ, तसर्थ छिट्टै फेरि अझै वृहत ध्यान, योग र प्रेरणा शिविर गर्छौँ ।’

कार्यक्रममा सहयोग गर्ने व्यक्ति तथा संघसस्थालाई धन्यवाद दिँदै प्रशंसापत्र प्रदान गरिएको थियो । प्यासिफिक कलेज अफ टेक्नोलोजीले मुख्य प्रायोजन गरेको शिविरमा एनआरएनए न्यू साउथ वेल्स राज्यका संयोजक देव गुरुङलगायत विभिन्न समुदायका अगुवाहरूसहित १ सयभन्दा बढीको सहभागिता थियो ।

सफल जीवनका लागि शारीरिक रूपमा स्वस्थ्य, मानसिक रूपमा सन्तुलित, वौद्धिक रूपमा प्रतिभावान, आत्मिक रूपमा सबल र सामाजिक रूपमा सहयोगी हुनुपर्ने शिविरको मुख्य सन्देश थियो । सिड्नीका विभिन्न सअर्वहरूमा रहेका नेपाली विद्यार्थी र अभिभावकहरूलाई लक्षित गरी शिविर आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको