अस्ट्रेलिया । अस्ट्रेलियामा ‘हरितालिका तीज’ तथा ‘नइ नारी गौरवी पुरस्कार’ समारोह हुने भएको छ । नइ एकेडेमी अस्ट्रेलियाको आयोजनामा यही अगस्ट ११ तारिख शुक्रबार दिउँसो यो कार्यक्रम हुने भएको हो । यसै अवसरमा नइले विविध तीन क्षेत्रमा विशेष योगदान गरेवापत् अस्ट्रेलियन नेपाली समुदायका तीन जना गर्नेछ ।
उनीहरूलाई जनही पाँच सय डलर राशीको ‘नइ नारी गौरवी पुरस्कार’ (Nai Women of the year- 2023) बाट सम्मान गरिनेछ । यो पुरस्कार पाउने व्यक्ति छनौटका ५ देशबाट प्रतिनिधित्व टोली चयन गरिएको छ । प्रतिनिधित्व टोलीले अगष्टसम्म प्राप्त हुने मनोनयनहरूबाट सम्मानित हुने तीन जनाको टुंगो लगाउने छ ।
यस वर्ष अस्ट्रेलियाका तीन गौरवी नारीलाई मात्र यो पुरस्कार समर्पण गर्ने निर्णय भएको हो । नारी जागरणलाई नै विशेष महत्व दिएर प्रथम पटक यस वर्षका पुरस्कार मातृशक्तिमा समर्पण गर्ने निर्णय भएको पनि आयोजकले जनाएको छ ।
अर्काे वर्षदेखि पुरस्कारका लागि सबै लिंगीलाई समेट्ने पनि जनाइएको छ । समारोहमा अस्ट्रेलियन नेपाली समाजका कलाकारहरूले गीत, संगीत तथा नृत्य प्रस्तुत गर्नेछन् । साथै, नेपाली परम्परागत भोजनको ब्यवस्था गरिनेछ । औपचारिक समारोहपछि डिजेले फ्लोर डान्सका लागि दर्शकहरूलाई आमन्त्रित गर्ने पनि आयोजकले जनाएको छ ।
उपस्थितिका लागि अगष्ट अघि नै जानकारी दिन नइ एकेडेमी अस्ट्रेलियाका अध्यक्ष तथा कार्यक्रम प्रबन्धक सीमा रोसीले आग्रह गर्दै सम्पर्क फोन (61424914807) र ईमेल (simajime@yahoo.com) सार्वजनिक गरेकी छन् ।
समारोहमा अस्ट्रेलियास्थित नेपाली राजदूत, राज्य सरकार तथा स्थानीय सरकारका प्रमुख पदाधिकारीहरूका साथै अस्ट्रेलियन नेपाली समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरू सहभागी हुने पनि आयोजकले जनाएको छ । नइ एकेडेमीको लक्ष्य कला, साहित्य, खेलकुद, शिक्षा, विज्ञान, प्रविधि, समाजसेवालगायत विविध क्षेत्रलाई समेट्ने रहेको कार्यक्रम संयोजक जेनीसा गौतमले जानकारी दिइन् ।
अस्ट्रेलियामा बसोवास गर्ने नेपालीहरूमाझ सद्भावना बढाउने हेतुले ‘नइ एकेडेमी अस्ट्रेलिया’ स्थापना गरिएको हो ।