जब तिज महोत्सवमा महिला प्रहरीले हामीलाई खोज्दै आइन् !

जब तिज महोत्सवमा महिला प्रहरीले हामीलाई खोज्दै आइन् !
नेपालआईज
९ असोज २०८० ८:५८

प्रतिज्ञा अधिकारी । गत सोमबार नेपाली हिन्दू सोसाइटी अष्ट्रेलियाले तिज महोत्सवको आयोजना गरेको थियो । शिव पूजा गर्ने र नाच्ने गाउने अवसरका लागि यो महोत्सव आयोजना गरिएको थियो । जुन भब्य रूपमा सम्पन्न पनि भइसकेको छ ।

कार्यक्रम सफल बनाउन आयोजकहरू बिहानैदेखि खटिने क्रम जारी थियो । त्यही बेला एक जना बहिनीले आयोजक खोज्दै आइन् । उनले भनिन्, ‘तपाईँहरूलाई पुलिसले भेट्न खोजेको छ ।’ म र बन्दिता पुलिसको स्टलमा गयौँ । हामीलाई लाग्यो केही कम्प्लेन आयो कि ! हामीलाई देख्ने बित्तिक्कै मल्टीकल्टरल लियाजन अफिसरले ‘अध्यक्ष को हो ?’ भनेर सोधिन् । ‘हाम्रो अध्यक्ष अहिले व्यस्त हुनुहुन्छ, केही थियो कि ?’, हामीले जिज्ञासा राख्यौँ ।

अफिसरले एक पछि अर्को गर्दै हाम्रो समुदायमा व्याप्त समस्याहरू औंल्याइन् । उनले भनिन्, ‘नेपाली समुदायमा मानसिक रोग, घरेलु हिंसा, जुवा तास, रक्सी, लागुपदार्थको लत लागेका धेरै छन् । केही न केही गर्ने बेला भयो । तपाईँहरूले यतातिर ध्यान किन दिनुभएको छैन ?’ अफिसरले थपिन्, ‘हामीले बुझ्न सकेका छैनौँ ।

त्यति मात्र हो र नेपालबाट बुवाआमा यहाँ आउनु हुन्छ । त्यसपछि पनि परिवारमा हिंसा बढेको देखेका छौँ । परिवारमा बैमनस्यता बढेको हामीले देखेका छौँ । एक अर्कालाई कुटपिट गर्नु मात्रै घरेलु हिंसा होइन ।’

सायद ती अफिसरले सांस्कृतिक–आर्थिक भेदभाव, इमोसनल र साइकोलोजिकल दुव्र्यवहारका बारेमा बोल्दै थिइन् । मन नै कस्तो चिसो भयो । मैले लामो समयदेखि यो कुरा गर्दा यसलाई मजाकको विषय बनाएको तितो अनुभव छ । समाजमा पहुँच भएकाहरूमा समेत यस्ता विषयमा चेतना भएको मैले पाउदिनँ ।

आजभोलि त मैले यस्ता कुरा गर्‍यो भने आफूले भोगेको भएर कुरा गर्छे भन्छन् । घरेलु हिंसा कुरा उठायो भने ‘यसले केटा मान्छेलाई देख्न सक्दिनँ’ भनेर भद्दा मजाक गरिँदो रहेछ । एक जना नेतृले त घरेलु हिंसाको कुरा गर्दा ‘मलाई हात हालेर नपिटेसम्म अरु कुरा सहन्छु’ भनेको सुन्दा मलाई अचम्म लागेको थियो ।

अष्ट्रेलियामा हाम्रो समुदाय द्रुत गतिमा बढ्दो छ । अवसर सङ्गै यहाँ चुनौतीहरू पनि छन् । जनचेतना सँगसँगै अरु केही ठोस संयन्त्र बनाएर काम गर्नुपर्ने देखिन्छ ।

लेखक महिला फोरम अस्ट्रेलियाकी पूर्वसंयोजक प्रतिज्ञा अधिकारी हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको