अस्ट्रेलिया । व्यक्तिगत चोटपटकमा क्षतिपूर्ति अधिकारसम्बन्धी जनचेतनाका लागि वबिनार गरिएको छ । नेप्लीज अस्ट्रेलियन अलाइड हेल्थ प्रोफेसनल्ज एसोसिएशन एनएएएचपीएले व्यक्तिगत चोटपटक हुँदा क्षतिपूर्तिको अधिकार कहिले र कसरी खोज्ने भन्नेबारे जनचेतना जगाउन स्वास्थ्य व्यवसायीहरूका लागि वेबिनारको आयोजन गरेको हो ।
सेप्टेम्बर २३ मा भर्चुअल रूपमा गरिएको कार्यक्रममा ‘लिटल्स लयर्स’ का अधिवक्ता अलेक्सान्डर ए तामायो र प्यारालिगल लोचन दाहाल प्रस्तुतकर्ताका रूपमा सहभागी भएका थिए ।
अष्ट्रेलियामा रहेका नेपाली समुदायले क्षतिपूर्ति अधिकार खोज्न हिचकिचाउने गरेकाले पनि यो कार्यक्रम सहयोगी हुने संस्थाका प्रवक्ता निर्मल कार्कीको विश्वास छ । साथै, यो कार्यक्रमले नेपाली स्वास्थ्य व्यवसायीहरूलाई समुदायलाई कसरी सचेत गराउने विषयमा जागरुक गर्नेछ ।
एनएएएचपीएले अष्ट्रेलियामा कार्यरत फिजियोथेरापिस्ट, अकुपेशनल थेरापिस्ट, स्पीच प्याथोलोजिस्ट, सोसल वोर्करलगायत नेपाली सम्बद्ध स्वास्थ्य व्यवसायीहरूलाई एकीकृत गर्दै आएको छ । यो संस्थाले अष्ट्रेलिया र नेपालमा सामुदायिक लाभका कार्यक्रमसमेत गर्दै आएको छ ।