एनआरएनए अस्ट्रेलिया तास्मानियाद्वारा नेपाली समुदायका मुद्दा समाधानमा सांसद र नेताहरूसँग पहलको आग्रह !

एनआरएनए अस्ट्रेलिया तास्मानियाद्वारा नेपाली समुदायका मुद्दा समाधानमा सांसद र नेताहरूसँग पहलको आग्रह !
नेपालआईज
१६ फागुन २०८१ २३:५६


होबार्ट – गैरआवासीय नेपाली संघ (NRNA) अस्ट्रेलिया तास्मानियाको प्रतिनिधिमण्डलले होबार्टस्थित संसदीय कार्यालयको भ्रमण गर्दै विपक्षी नेता -सांसद डीन विन्टर, सांसद एला हद्दाद र तास्मानियाली लेबर पार्टीका अन्य प्रतिनिधिहरूसँग भेटवार्ता गरेको छ।

बैठकमा तास्मानियामा बसोबास गर्ने नेपाली समुदायका मुद्दा र योगदानबारे गहन छलफल भएको थियो। छलफलमा स्थानीय सरकारसँगको सहकार्य, नेपाली समुदायले सामना गरेका चुनौतीहरू, रोजगारी, शिक्षा, स्वास्थ्य सेवा लगायतका क्षेत्रमा समान अवसर सुनिश्चित गर्ने नीति निर्माणमा ध्यान दिनुपर्ने विषय उठाइएको थियो। साथै, तास्मानियाली समाजमा नेपाली समुदायले पुर्‍याएको योगदानलाई औपचारिक रूपमा मान्यता दिनुपर्ने माग पनि प्रतिनिधिमण्डलले अघि सारेको थियो।


प्रतिनिधिमण्डलले तास्मानियामा नेपाली व्यवसायी तथा समुदायका सदस्यहरूले भोगिरहेका भेदभाव र अन्यायका मुद्दाहरूलाई सम्बोधन गर्न आग्रह गर्दै नेपाली भाषा, कला, संस्कृति तथा पहिचानको संरक्षणका लागि नेपाली सामुदायिक केन्द्र स्थापना गर्न पहल आवश्यक रहेको औंल्यायो।

बैठकमा सांसदहरूले तास्मानियामा नेपाली समुदायको योगदानको प्रशंसा गर्दै आगामी दिनमा नेपाली समुदायसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

त्यस अवसरमा एनआरएनए अष्ट्रेलिया तास्मानियाको प्रतिनिधिमण्डलले आगामी नेपाल महोत्सव होबार्टमा सहभागी हुन सांसदहरूलाई निमन्त्रणा गरेको थियो। सांसदहरूले महोत्सवमा सहभागी हुने प्रतिबद्धता जनाएका छन्।

उक्त बैठकमा एनआरएनए अस्ट्रेलिया तास्मानियाको तर्फबाट नेशनल कल्चरल सचिव तथा नेपाल महोत्सव तास्मानिया सांस्कृतिक संयोजक विष्णु थपलिया, एनआरएन तास्मानियाका उपसंयोजक उत्तम अधिकारी, राष्ट्रिय युवा फोरमका कोषाध्यक्ष असिम घिमिरे, सदस्य सुजन वाग्ले र नारिनीकुञ्ज सदस्य क्रिस्टिना प्रधान सहभागी रहेका थिए। साथै, एनआरएनए अस्ट्रेलिया तास्मानियाको प्रतिनिधिमण्डलले सांसदहरूलाई ध्यानाकर्षण पत्र समेत बुझाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको