छत्र शंकर
होबार्ट । अस्ट्रेलियामा नेपाली महोत्सवको रौनक छ। विशेष गरी नेपाली समुदायको बाक्लो उपस्थिति रहेको तास्मानियाको राजधानी होबार्टमा यही मार्च २९ मा नेपाल फेस्टिभल हुँदै छ । नेपाली संगीत, नृत्य, खानपान तथा परम्परागत कलासंस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने यस फेस्टिभलले नेपाल र नेपाली संस्कृतिलाई अस्ट्रेलियामा चिनाउने छ ।
एनआरएनए तास्मानियाका राज्य संयोजक जगदिश खड्काका अनुसार, फेस्टिभललाई तास्मानियाको स्थानीय सरकार, होबार्ट सिटी काउन्सिल, तथा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूको सहकार्यमा सम्पन्न गरिनेछ। तास्मानियन मल्टिकल्चरल काउन्सिल र स्थानीय व्यवसायिक संघहरूको समेत विशेष सहयोग रहने छ।
नेपाल फेस्टिभल तास्मानिया २०२५ का सांस्कृतिक संयोजक विष्णु थपलियाले यस वर्षको महोत्सवमा परम्परागत नेपाली नृत्य, संगीत, तथा खानाका विभिन्न परिकार समावेश गरिने जानकारी दिएका छन्। कार्यक्रमको मुख्य आकर्षणका रूपमा विभिन्न जातीय समुदायका सांस्कृतिक प्रस्तुतिहरू रहने छन।
फेस्टिभलमा नेपाली बाजागाजा सहित र्याली गरिने छ भने मादल, बाँसुरी, सारंगीको धुन होबार्टमा गुन्जिने छ । नेपाली स्वादका परिकारहरू र प्रदर्शनी समेत गरिनेछ। महोत्सव व्यवस्थापनका लागि ५० देखि ७० जना स्वयंसेवक परिचालित गरिने योजना रहेको छ। राष्ट्रिय युवा फोरम तास्मानियाका कोषाध्यक्ष अस्मिन घिमिरेका अनुसार, सुरक्षाका लागि विशेष योजना लागू गरिनेछ, जसमा आपतकालीन सहायता केन्द्र, प्राथमिक उपचार टोली (First Aid), तथा भीड व्यवस्थापनसम्बन्धी कार्ययोजना समावेश गरिनेछ।
नेपालकै चर्चित कलाकारहरूको महोत्सवमा संगीतिक प्रस्तुति रहने छ । सांगीतिक प्रस्तुतिमा युवराज चौलागाईं, समीक्षा अधिकारी, तथा कन्दरा ब्यान्ड लगायतका कलाकारहरू सहभागी हुने भएका छन्। स्थानीय नेपाली कलाकारहरूलाई विशेष प्राथमिकता दिएको आयोजकको भनाई छ ।
एनआरएनए तास्मानियाका उप संयोजक उत्तम अधकारीका अनुसार फेस्टिभलमा अनुमानित बजेट ८० हजारदेखि १ लाख अष्ट्रेलियन डलरसम्म रहेको छ। कार्यक्रमलाई सफल बनाउन Aussie Finance and Home Loan Tasmania ले मुख्य प्रायोजन गरेको छ भने Expert Education and Visa Services Tasmania तथा Brighton Short Courses Tasmania सह-प्रायोजकका रूपमा रहेका छन्।
महोत्सव नेपाली समुदायका लागि मात्र नभई स्थानीय अस्ट्रेलियन तथा अन्य समुदायका लागि पनि खुला हुनेछ। आयोजकले सूचना तथा कार्यक्रम सामग्रीहरू नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशन गरेको छ । मल्टिकल्चरल प्रदर्शनको लागि अन्य समुदायका सांस्कृतिक समूहहरूलाई समेत निमन्त्रणा गरिने छ। फेस्टिभलमा युवा सहभागितालाई बढाउन सामाजिक सञ्जाल (Facebook, Instagram, TikTok) बाट प्रचार प्रशार गरिदैछ ।
एनआरएनए तास्मानियाले सम्पूर्ण नेपाली समुदायलाई महोत्सवमा उपस्थित हुन र नेपाली कला तथा संस्कृतिको प्रवर्द्धन गर्न विशेष अनुरोध गरेको छ।