तास्मानियामा फुल्यो नेपाली संस्कृति र माया…

तास्मानियामा फुल्यो नेपाली संस्कृति र माया…
नेपालआईज
१६ चैत २०८१ ५:१९

तास्मानियामा रहेका नेपाली समुदायले ‘नेपाल फेस्टिभल तास्मानिया २०२५’ लाई भव्य रूपमा मनाए। गैर-आवासीय नेपाली संघ (NRNA) तास्मानिया र नेपाली राजदूतावास, क्यानबेरा, अष्ट्रेलियाको सहकार्यमा सम्पन्न यस महोत्सवले नेपालप्रतिको गहिरो माया, सांस्कृतिक गर्व, र प्रवासी नेपालीबीचको एकतालाई झल्काएको थियो।


फेस्टिभलमा सयौं नेपाली तथा नेपाली भाषीहरू दौरा सुरुवाल, गुुन्यु चोली, साडीजस्ता परम्परागत पोशाकमा सजिएर सहभागी भए। नेपाली राष्ट्रिय झण्डा फहराउँदै सांस्कृतिक ¥याली निकालियो, जसमा अष्ट्रेलियाका विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरू सहभागी थिए। उनीहरूले आफ्ना समूहको ब्यानर बोकेर नेपालको मौलिकता प्रस्तुत गरे।


नेपाल फेस्टिभलमा सांस्कृतिक नृत्य, नेपाली परिकार, संगीत, तथा प्रदर्शनीहरू समावेश गरिएका थिए। यी कार्यक्रमहरूले प्रवासमा रहेका नेपालीहरूलाई आफ्नो देशको झल्को दिलाए भने अष्ट्रेलियाली समुदायलाई नेपाली संस्कृति नजिकबाट अनुभव गर्ने अवसर प्रदान गरे। नेपाली मौलिक खानाका परिकारहरूले सबैलाई मोहित बनाएका थिए।


फेस्टिभलमा नेपाली राजदूत चित्रलेखा यादव, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल तथा स्थानीय प्रमुख नेताहरूको उपस्थिति थियो। उनीहरूले सांस्कृतिक आदान–प्रदान, आपसी एकता, र नेपाली पहिचानको संरक्षणमा यस्ता महोत्सवको भूमिकाबारे चर्चा गरे। प्रवासी नेपालीबीच आपसी सम्बन्ध सुदृढ गर्न फेस्टिभल महत्वपूर्ण माध्यम बनेको उल्लेख गरियो।


कार्यक्रमका आयोजकहरूले अपार सहभागिताप्रति कृतज्ञता व्यक्त गर्दै भने, “नेपाल फेस्टिभल तास्मानिया केवल उत्सव मात्र होइन, यो हाम्रो मातृभूमिप्रतिको माया र भावी पुस्तालाई हाम्रो संस्कृति हस्तान्तरण गर्ने महत्वपूर्ण माध्यम हो।”

महोत्सव संगीत, नृत्य प्रस्तुति तथा नेटवर्किङ सेसनसहित सम्पन्न भयो। यसले नेपाली पहिचान र समुदायबीचको सम्बन्धलाई थप मजबुत बनायो। नेपालप्रतिको माया झल्काउने यो भव्य उत्सवले तास्मानियामा नेपाली अस्तित्वको विशेष पहिचान स्थापित गर्यो।


यस कार्यक्रमको शीर्ष प्रायोजक Aussie Finance and Home Loans रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर