Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
शनिबार करण राईको साथमा लनचेस्टमा नेपाली नयाँ वर्ष २०८२ को भव्य सांस्कृतिक कार्यक्रम हुँदै
नेपालआईज
२७ चैत २०८१ २३:३४
होबार्ट –
तास्मानियाको लन्चेस्टनमा आउँदो शनिबार, अप्रिल १२ तारिखका दिन नेपाली नयाँ वर्ष २०८२ को अवसरमा एक भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। Handi Care Services को प्रस्तुति र Creative Journey Foundation को आयोजनामा हुन लागेको यस विशेष कार्यक्रममा नेपाली सांगीतिक जगतका चर्चित गायक तथा ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ का विजेता करण राईले विशेष सांगीतिक प्रस्तुति दिनेछन्।
आफ्नो अद्वितीय प्रतिभा र नेपालीभाषी भूटानी समुदायको विश्वव्यापी प्रतिनिधित्वका लागि परिचित करण राई नेपाली तथा भूटानी संस्कृतिको प्रवर्द्धनमा समर्पित एक प्रेरणादायी कलाकार हुनुहुन्छ। उहाँका संगीतले विश्वभरिका दर्शकको मन छोएको छ र अब उहाँको मधुर स्वरले तास्मानियाली दर्शकलाई पनि मन्त्रमुग्ध बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रमका प्रवक्ता विनोद लामिछानेका अनुसार, कार्यक्रममा स्थानीय कलाकारहरू तथा सांस्कृतिक नृत्य समूहहरूले समेत आफ्ना प्रस्तुति दिनेछन्। विविध सांस्कृतिक प्रस्तुतिले भरिपूर्ण यो कार्यक्रम अपराह्न २ बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछ, भने प्रवेश शुल्क $२५ निर्धारण गरिएको छ।
कार्यक्रमका प्रमुख प्रायोजकहरूमा Innovative Care Tasmania, Care People Australia, Indian Grocery Mowbray, र Chandra Dhan Jewellery & Repair Shop रहेका छन्। साथै, कार्यक्रम Launceston Takin Football Club, Refugee Communities Association of Tasmania, र Northern Suburb Community Centre को सहयोगमा आयोजना हुन लागेको हो। सञ्चार साझेदारको रूपमा साझा आवाज र City Park Radio रहेका छन्।
क्रिएटिभ जर्नी फाउन्डेशनका अध्यक्ष ओबेथ राईले यस कार्यक्रमले नेपाली कला, संस्कृति र संगीतलाई प्रवर्द्धन गर्ने एउटा उत्कृष्ट मञ्च हुने विश्वास व्यक्त गर्नुभएको छ। साथै, उहाँले यो कार्यक्रम खुशी र सकारात्मक आशा बाँड्ने अवसर हुने भन्दै सम्पूर्ण समुदायका सदस्यहरूलाई शनिबार एकसाथ भेला भई हाम्रो सांस्कृतिक धरोहरको उत्सव मनाउन आग्रह गर्नुभएको छ।
उक्त सांगीतिक तथा सांस्कृतिक उत्सवमा सहभागी भई नेपाली नयाँ वर्ष २०८२ लाई स्मरणीय बनाउँदै तास्मानियावासी सम्पूर्ण नेपाली भाषी तथा नेपाली समुदायलाई सहभानी हुन् आयोजकले अनुरोध गरेका छन्।