अष्ट्रेलियाका युवाहरु ‘बैंक अफ मम एण्ड ड्याड’ मा बढ्दो निर्भरता


नेपालआईज
९ वैशाख २०८२ १:२५
मेलबर्न – अष्ट्रेलियामा पहिलोपटक घर किन्ने युवा पुस्ताका लागि अभिभावकको आर्थिक सहयोग ‘बैंक अफ मम एण्ड ड्याड’ को रूपमा सबभन्दा ठूलो सहारा बन्न थालेको छ। नयाँ अनुसन्धानअनुसार, करिब ४० प्रतिशत युवा घरधनी बन्नका लागि आफ्नो बाबुआमा वा हजुरबुबा–हजुरआमाबाट प्रत्यक्ष आर्थिक सहायता लिने गरेका छन्।
‘बैंक अफ मम एण्ड ड्याड’ भनेर परिचित यो प्रवृत्तिमा अभिभावकहरूले औसतमा ३३ हजार डलरभन्दा बढी रकम छोराछोरीको घर खरीदमा खर्च गर्ने योजना बनाएका छन्। यसमा भिक्टोरिया राज्य सबैभन्दा अगाडि छ, जहाँ औसत सहयोग रकम ५२ हजार ७१६ डलरसम्म पुगेको देखिएको छ — जुन राष्ट्रिय औसतभन्दा उल्लेख्य रूपमा बढी हो।
यद्यपि, यो प्रवृत्तिले घर खरिदमा गम्भीर सामाजिक असमानता निम्त्याउने चिन्ता उत्पन्न गरेको छ। जुन युवाले आफ्ना अभिभावकबाट सहयोग पाउँछन्, उनीहरूका लागि घर किन्ने अवसर सजिलो हुन्छ भने अभिभावकको सहयोग नपाउने धेरै युवा अझै पनि भाडाको बसाइमै सीमित छन्।
विशेषज्ञहरू भन्छन्—‘बैंक अफ मम एण्ड ड्याड’ मा बढ्दो निर्भरता अचल सम्पत्ति बजारको मूल्य अझै चुल्याउने सम्भावना रहेको छ, जसले समग्र रूपमा घर खरिद प्रक्रिया झन् कठिन र असमान बनाउनेछ।