Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
नेतृत्वको खोजी : न्युजिल्याण्डमा १६ वर्षीया नेपाली छोरी तन्वी उप्रेती युवा सांसदमा छनोट
नेपालआईज
११ वैशाख २०८२ २२:३४
छत्र शंकर —
नेपाली मूलकी तन्वी उप्रेती न्युजिल्याण्डको आम निर्वाचनमार्फत साँसदमा चुनिएकी भने होइनन्। उनलाई एक निर्वाचन क्षेत्रका सांसदले Ministry of Youth Development – Te Manatū Whakahiato Taiohi को नेतृत्वमा र Office of the Clerk को सहकार्यमा सञ्चालन हुँदै आएको विशेष कार्यक्रम अन्तर्गत उप्रेतीलाई युवा सांसद (Youth MP) का रूपमा छनोट गरेका हुन्।
न्युजिल्याण्डको युथ संसद २०२५ का लागि Bay of Plenty क्षेत्रको प्रतिनिधित्व गर्दै तन्वीले नेपाली समुदायको रूपमा अवसर पाएकी हुन्। Bay of Plenty क्षेत्रका सांसद टम रदरफोर्डले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै टौराङ्गास्थित अक्विनास कलेजमा अध्ययनरत कक्षा १२ की छात्रा तन्वीलाई २०२५ युथ संसदका लागि प्रतिनिधिका रूपमा घोषणा गरेका हुन्।
पापामोआकी स्थायी बासिन्दा तन्वी नेपाली आप्रवासी परिवारमा हुर्केकी हुन्। सांसद रदरफोर्डले भने, “तन्वीले युवा आप्रवासीहरूको आवाज उजागर गर्न, नेतृत्वमा महिलाको सहभागिता बढाउन, र नीतिमा युवाको चासो प्रतिबिम्बित गराउन दृढ इच्छाशक्ति देखाएकी छन्।”
तन्वीको प्राथमिकतामा मानसिक स्वास्थ्य सेवाको पहुँच सुधार, शिक्षा प्रणालीमा अवसरको विस्तार, र सम्पूर्ण युवाहरूका लागि सफलताको मार्ग निर्माण गर्ने विषयहरू रहेका छन्।
हरेक तीन वर्षमा सञ्चालन हुने युथ संसद कार्यक्रममा सहभागिता जनाउन आवेदन खुल्ने गर्छ। छनोट गरिएका १४३ जना युवा सांसदहरूमध्ये नेपाली चेली तन्वी उप्रेती पनि परेकी हुन्।
सन् २०२२ को युथ संसदमा सहभागी युवाहरूले संसद भवनमै बसेर विधेयकमाथि प्रत्यक्ष बहस गरेका थिए। उनीहरूले नीतिगत सिफारिसहरू प्रस्तुत गर्नुका साथै सांसदहरूको भूमिकामा प्रत्यक्ष अनुभव हासिल गरेका थिए।
युथ संसद न्युजिल्याण्डका युवाहरूलाई लोकतन्त्रको व्यावहारिक ज्ञान दिलाउने मात्र नभई उनीहरूको सोच, सरोकार र नेतृत्व क्षमतालाई राष्ट्रिय स्तरमा उजागर गर्ने एक महत्वपूर्ण प्लेटफर्म बनेको छ।
यो कुनै पनि राजनीतिक दलसँग नजोडिएको (गैर-पक्षपाती) प्रक्रिया हो, जसको सुरुवात सन् १९९४ मा, १८ वर्ष उमेरमा मतदान गर्ने कानुनी उमेर घटाइएको २० औं वार्षिकोत्सवको अवसरमा गरिएको थियो। पहिलो युथ संसद एकदिने शैक्षिक कार्यक्रम थियो, जसमा युवाहरू संसद भवनमा आएर प्रत्यक्ष लोकतान्त्रिक प्रक्रिया सिक्ने अवसर पाएका थिए।
यस पहिलो सफल आयोजनापछि, सन् १९९५ मा क्याबिनेटले युथ अफेयर्स मन्त्रीलाई प्रत्येक संसदीय कार्यकालमा युथ संसद आयोजना गर्न औपचारिक रूपमा आमन्त्रण गर्यो।
सन् २०१० देखि युथ संसदलाई दुईदिने कार्यक्रम मात्र नभई दीर्घकालीन सहभागिता सुनिश्चित गर्नका लागि Youth MPs का लागि कार्यकाल कार्यक्रम (tenure programme) लागू गरिएको छ।