Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अष्ट्रेलियाका नेपालीहरुको साँचो उपहार -भूकम्पले भत्किएको विद्यालय, अब हर्षले भरियो
नेपालआईज
१२ वैशाख २०८२ २२:१७
छत्र शंकर / अष्ट्रेलिया –
२०७९ सालको कार्तिक १७ गते राति, जाजरकोट भुइँचालोले थर्थराइरहँदा, बाहुनथानास्थित श्री शंकर भवन माध्यमिक विद्यालयका भित्ताहरू चर्किरहेका थिए। त्यो रातको ६.४ रेक्टर स्केलको कम्पनले विद्यालयको भवन मात्र भत्किएन, विद्यार्थीहरूको सपना, शिक्षकहरूको मिहिनेत र अभिभावकहरूको आशा समेत भत्काएझैँ भयो।
तर दुःखको त्यो रात दुई वर्ष नपुग्दै, फेरि आशाको बिहान बनेर फर्किएको छ। अब त्यही ठाउँमा, भर्खरै रंगिन गरिएको, दुई कोठे पक्की भूकम्प प्रतिरोधी भवन मुस्कुराइरहेको छ -अष्ट्रेलियामा बस्ने नेपालीहरूको माया र गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको समर्पणले बनेको साँचो उपहारजस्तै।
टाढाबाट आएको साथ, नजिक बनेको भावना
अष्ट्रेलियामा बसेका नेपालीहरूले यस दुःखद क्षणमा न केवल राहत पुर्याए, उनीहरूले गाउँकै स्कुल पुनः बनाउने जिम्मा लिए। ४० हजार डलर लागतको उक्त पुनर्निर्माणमा एनआरएनए अष्ट्रेलियाले २५ हजार डलर सहयोग गर्यो भने बाँकी स्थानीय समुदायले जुटाए। आज त्यही विद्यालयको पुनर्निर्मित भवन एक कार्यक्रमबीच विधिवत् उद्घाटन भयो।
एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, उपाध्यक्ष सम्भु गैसे, क्षेत्रीय संयोजक दिनेश पोखरेल लगायतको टोली विद्यालयको उद्घान गर्ने पुगे । त्यहाँ उपस्थित सबैको आँखाभरि आँसु र अनुहारमा मुस्कान थियो। विद्यार्थीहरू सफा पोशाकमा अनुशासित उभिएका थिए, शिक्षक र अभिभावकहरू चाड मनाएजस्तै उल्लासित देखिन्थे।
अध्यक्ष पोखरेल भन्छन्: ” विद्यालय व्यवस्थापन समिति, शिक्षक, स्थानीय संस्था, मिडिया, स्वंयम सेवक , समुदाय र सिङ्गो अष्ट्रेलियाका नेपालीहरूको सहयोगले मात्र आज भवन यस्तो बन्न सफल भएको हो। म उनीहरू सबैलाई आभार व्यक्त गर्छु।”
सात समुद्र पारिको मायाले जन्माएको भवन
“देश छोडे पनि मन छोडिन्न,” भनी बुझाउन सकिने यो उदाहरण सायद यही हो। भूकम्प गएपछिको भोलिपल्टदेखि नै सक्रिय भएको एनआरएनए अष्ट्रेलियाले तत्काल राहत मात्र होइन, दीर्घकालीन पुनर्निर्माणमा पनि ध्यान दिएको थियो। गोफन्डमीमार्फत संकलित सहयोग, स्वयंसेवकहरूको श्रम, र युथ अवेयरनेस रेजिङ सेन्टर नेपालको संयोजनमा निर्माण सम्पन्न भएको भवनले आज फेरि एक पटक शिक्षा र सम्भावनाको ढोका खोलिदिएको छ।
जाजरकोट: गरिबी, भूखमरी र शिक्षाको संघर्ष
कर्णाली प्रदेशअन्तर्गतको जाजरकोट जिल्ला भौगोलिक रूपमा विकट, आधारभूत पूर्वाधारको अभाव, र गहिरो गरिबीले ग्रसित छ। करिब ८० हजार भन्दा बढी मानिसहरू गरिबीको रेखामुनि बाँचेका छन्। त्यसमाथि शिक्षाको अवस्था झन् चिन्ताजनक छ – बालबालिकामा कुपोषण, विद्यालयमा भौतिक पूर्वाधारको अभाव, शिक्षक अभाव, र पहुँचको समस्या जस्ता कारणले यहाँको भविष्य झझल्कोमै सीमित हुँदै आएको छ।
यस्ता चुनौतीबीच निर्माण भएको यो नयाँ भवन केवल ईँटा र सिमेन्टको संरचना मात्र होइन, यो आशा, भरोसा र समर्पणको जीउँदो दस्तावेज हो।
एउटा भावना, जुन सीमाभन्दा पर छ
उद्घाटन कार्यक्रमका तस्वीरहरूले धेरै भन्न खोजे – गुराँसको माला, आँखामा आँसु, र मुस्कानसहितको अभिवादनले दर्शाउँथ्यो कि विकास भनेको पैसाले मात्र होइन, माया, जिम्मेवारी र साझा भावनाले पनि हुन्छ। अष्ट्रेलियाबाट आएको त्यो माया अहिले बाहुनथानाको भित्तामा टाँसिएको छ — अनि बालबालिकाको भविष्यमा उज्यालो बनिरहेको छ।