मेलबर्न -अष्ट्रेलियाको राष्ट्रिय अपांगता बीमा योजना अन्तर्गत सेवाप्रदायकहरूमाथि निगरानी गर्ने निकाय NDIS Commission ले तीन महिनाको अवधिमा ६८ हजार वटा अनुपालन र कारबाही नोटिस जारी गरेको छ। यो संख्या अघिल्लो त्रैमासिकको तुलनामा तीनगुणा बढी हो।
यो कारबाहीको क्रममा ५५ जना व्यक्तिहरूलाई अपांगता भएका सहभागीहरूसँग काम गर्न अयोग्य ठहर गर्दै प्रतिबन्ध लगाइएको छ। यस्तै, दर्ता भएका र नभएका सेवा प्रदायकहरू विरुद्ध ५ वटा प्रतिबन्ध आदेश पनि जारी गरिएको छ।
प्रतिबन्ध लगाइएका कारणहरूमा यौन दुर्व्यवहार, बालबालिकाको उपेक्षा, लागूपदार्थको दुरुपयोग, शोषणजस्ता गम्भीर अपराधहरू रहेका छन्।
एक साझा छानबिनमा “The Freedom Care Group” नामक संस्थालाई जेलमा रहेका सहभागीहरूको नाममा ३ लाख ४० हजार डलर बराबरको सेवा दाबी गरेको पाइएपछि स्थायी प्रतिबन्ध लगाइएको हो।
त्यस्तै “Assistive Disability Services” नामक संस्थालाई १० वर्षको प्रतिबन्ध, “The Australian Health Company” र “The Foot Specialist Australia” लाई तीन-तीन वर्षका लागि प्रतिबन्ध लगाइएको छ।
NDIS Quality and Safeguards Commissioner लुइस ग्लानभिलका अनुसार, “यो कारबाही हाम्रो कर्मचारी वृद्धि, प्रणाली सुधार र प्रक्रियाको परिपक्वता कारण सम्भव भएको हो। सहभागीहरूले सेवा प्रदायकप्रति विश्वास गर्न सक्ने वातावरण बनाउनु अत्यावश्यक छ।”
गत वर्षको पहिलो त्रैमासिकमा २१ जना व्यक्तिहरू र १० वटा संस्थामाथि मात्र प्रतिबन्ध लगाइएको थियो। तर २०२५ को जनवरीदेखि मार्चबीच Commission ले १,१०८ संस्थाको दर्ता निवेदन अस्वीकार गर्यो भने १,०३६ भन्दा बढी संस्थालाई सुधारको निर्देशन दिएको छ।
४ हजार भन्दा बढी शिक्षामूलक कार्यक्रम पनि सञ्चालन गरिएको थियो, जसमा दर्ता सर्त उल्लंघन गर्ने सेवा प्रदायकहरूलाई नियमबारे जानकारी दिइएको थियो।
तर आयोगको विश्वसनीयता अहिले प्रश्नमा परेको छ। एक ‘whistleblower’ टान्या ली क्विनले “Cocoon SDA Care” विरुद्ध २०२३ मै उजुरी दिए पनि सो संस्था दुई वर्षसम्म सञ्चालनमा रहेको पाइएको छ।
उक्त संस्थाको मातृ कम्पनी “Horizon Sol Solutions” लाई गत मे महिनामा ३० दिनको निलम्बन दिइएको थियो। यसले सयौं अपांगता भएका व्यक्तिहरूलाई अन्य सेवा प्रदायक खोज्न बाध्य बनाएको छ।
संघीय अदालतमा पेश भएको कागजात अनुसार Horizon ले जेलमा रहेका र मृत्यु भइसकेका व्यक्तिहरुको नाममा पनि भुक्तानीको दाबी गरेको थियो। यद्यपि कम्पनीका निर्देशक मोहम्मद लतिफले यी सबै आरोपहरू अस्वीकार गर्दै “केही प्रशासनिक त्रुटिहरू” मात्रै भएको दाबी गरेका छन्।
लतिफका अनुसार केही गलत दाबीहरू भएको स्वीकार गर्दै ती रकम फिर्ता गर्ने प्रतिबद्धता जनाइएको छ। तर उनले ठगी भन्ने आरोपको पुष्टि हुने कुनै प्रमाण नरहेको दाबी गरेका छन्।