Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अवैध रूपमा बस्दा अष्ट्रेलियामा पनि डिपोर्टको खतरा!
नेपालआईज
२६ जेठ २०८२ २०:२९
अष्ट्रेलिया , अमेरिकाबाट पछिल्ला दिनमा डिपोर्ट गरिएका नेपालीहरूको संख्या तीव्र रूपमा बढिरहेको छ। सन् २०२५ को जनवरीदेखि मे महिनासम्म मात्रै १४० जना नेपालीलाई अमेरिकाले देश निकाला गरिसकेको छ। यस्ता घटनाले अष्ट्रेलियामा रहेका अवैध नेपाली आप्रवासीका लागि चेतावनीपूर्ण पाठ दिएको छ—‘इलिगल बस्नुभयो भने, अष्ट्रेलियाले पनि डिपोर्ट गर्छ।’
केही दिनअघि मात्र ३२ पुरुष र ५ महिला गरी ३७ जना नेपालीलाई अमेरिकी सरकारको चार्टर्ड विमानमार्फत काठमाडौं फर्काइएको थियो। ती सबै भिसा अवधि नाघेर बसेका, नक्कली कागजात पेश गरेका, वा आपराधिक गतिविधिमा संलग्न रहेकाहरू थिए।
अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा आप्रवासन नीति कडा बनाएपछि गैरकानुनी बसोबास गरिरहेका विदेशी नागरिकहरूलाई एकपछि अर्को गरी देशनिकाला गर्न थालेको हो। नेपाल सरकारका अध्यागमन विभागका अनुसार पछिल्ला पाँच महिनामा मात्रै दर्जनौं नेपालीलाई अमेरिकाले फर्काइसकेको छ।
अष्ट्रेलियामा पनि उस्तै नीति लागू
यही सन्देश अष्ट्रेलियामा रहेका नेपाली आप्रवासीका लागि पनि लागू हुन्छ। अष्ट्रेलियाको अध्यागमन कानुनले पनि अवैध रूपमा बसोबास गर्ने, विद्यार्थी वा पर्यटक भिसाको दुरुपयोग गर्ने, वा आपराधिक गतिविधिमा संलग्न हुने विदेशी नागरिकहरूलाई कडा कारबाही गर्छ—अन्ततः डिपोर्ट गरिन्छ।
एक माईग्रेसन लर्यस भन्छन् “अमेरिकाबाट फर्काइएका नेपालीहरूको नियति हेरेर अष्ट्रेलियामा रहेका सबै नेपालीले पाठ सिक्नुपर्छ। यहाँको अध्यागमन कानुन पनि झन् कडा हुँदै गएको छ। अवैध रूपमा बस्नेलाई कुनै ग्यारेन्टी छैन।”
शिक्षा र चेतावनी
अवैध आप्रवासनबाट सुरक्षाको प्रत्याभूति हुँदैन, न त भविष्य नै सुनिश्चित हुन्छ। बरु, ठूला सपना बोकेर हिँडेका युवाहरू डिपोर्ट भएर लाज, दुःख र निराशा बोकेर फर्किन बाध्य छन्। अब अष्ट्रेलियामा रहेका नेपालीहरूले यो घटनालाई गम्भीरताका साथ लिनुपर्छ—भिसा सकिएपछि बसिरहनु, कागज बिना काम गर्नु, वा दलालको भरमा बसोबास गर्नु जोखिमपूर्ण मात्र होइन, अवैध हो।