अष्ट्रेलियाको व्यस्त जीवनशैलीसँगै उद्यमशीलताको अवसरहरू पच्छ्याइरहेका सिड्नी निवासी सन्तोष आचार्य अहिले आफ्नै देशको माटोमा उत्पादन, रोजगारी र आशाको बीउ रोपिरहेका छन्।
सामान्य किसान परिवारमा जन्मिएका उनी बाल्यकालदेखि नै कृषि कर्मप्रति गहिरो निष्ठा राख्थे। “मानव जीवनको पहिलो आधार कृषि हो” भन्ने बुझाइले उनलाई यो बाटोतिर डोर्यायो।
कृषिको मोह: अष्ट्रेलिया आउनुअघि नै सुरु
कृषि केवल जीवनको स्रोत होइन, आत्मनिर्भरता र स्वाभिमानको प्रतीक पनि हो भन्ने उनको विश्वास छ। अष्ट्रेलिया आउनुअघि नै उनी व्यावसायिक कृषि क्षेत्रमा सक्रिय थिए। अष्ट्रेलियामा स्थायित्व पाएपछि उनले एग्रो फरेष्ट्री मा लगानी थप गरे।
एक्लो संघर्ष, तर साथ पाउने मनोविज्ञान
परिवार सानैमा गुमाएका उनले निर्णय आफ्नै बलमा लिन थाले। “अरुले सहयोग गरुन् या नगरुन्, आफैँ विश्वस्त भए पछि अरूलाई सहमत बनाउन सकिन्छ,” भन्ने उनी सम्झन्छन्। फार्मसँग सम्बन्धित स्थानीय साझेदारहरूको साथले उनको आत्मबल झनै बढ्यो।
तीनवटा फार्म, दर्जनौंलाई रोजगारी
उनको नेतृत्वमा अहिले नेपालका तीनवटा फरक स्थानमा फार्म सञ्चालनमा छन्। कुनैमा दाजुले हेर्नुहुन्छ, कुनैमा पूरै परिवार नै आबद्ध छ। सिजनअनुसार ५–१० जना सम्मले काम पाउँछन्। गोरखाको फार्ममा ६ जना पूर्णकालीन र १० जना अंशकालिकरूपमा काम गरिरहेका छन्।
मुनाफा मात्र होइन, समाजसेवाको भावना
“हामीले लगानी गरेपछि प्रतिफलको अपेक्षा त हुन्छ,” उनी भन्छन्, “तर त्यो भन्दा पनि हाम्रो कामले वरपरका मानिसमा आशा र प्रेरणा जगाओस् भन्ने हो।” गाउँघरका चुलो बलून्, बालबालिका स्कुल जाउन्,यही सपना उनी बोकिरहेका छन्।
साझेदार छनोट, विश्वासको जगमा निर्णय
सयौं साथीसँगको संगतबाट एकलाई छनोट गरेर योजनामा समेटे। “आजसम्मको यात्राले हामी सन्तुष्ट छौं,” उनी बताउँछन्। व्यवस्थापन चुनौतीहरू आइरहन्छन्, तर उनीहरूको टिम समाधानमुखी छ।
अष्ट्रेलियाको शैली नेपालमा लागू गर्ने प्रयोग
पहिला आफू काम नगर्ने, काम गराउने सोच थियो। अष्ट्रेलियामा मेहनत गरेपछि नेपालको फार्ममा पनि उनी आफैँ काममा होमिन्छन्। अहिलेको पुस्ताले कृषिको महत्त्व बुझ्दै गएकोमा उनी उत्साहित छन्।
अष्ट्रेलियाको कृषिबाट सिकाइ
अहिले उनी अष्ट्रेलियाको मुख्य कृषि क्षेत्रमा बसिरहेका छन्। आधुनिक उपकरण नेपालमा पनि उपलब्ध छन्, तर नीति किसानमुखी नभएकोमा उनी चिन्तित छन्। “राज्यले बजार व्यवस्थापनमा सहयोग गर्यो भने नेपालमा कृषिको कायापलट सम्भव छ,” उनी भन्छन्।
राजनीतिक आशावाद र युवाको संभावना
“देशको राजनीति एकदिन ठीक हुन्छ भन्ने मेरो विश्वास नेपालको समाज बुझ्दै जाँदा विकासको संकेतहरू देख्दै आएको अनुभवमा आधारित छ,” उनी भन्छन्। नयाँ पुस्ता शक्तिशाली हस्तक्षेप गर्न सक्छ भन्नेमा उनी विश्वस्त छन्।
कृषि, निर्यातको राष्ट्रिय अभियान
‘मिशन २०२७’ उनको नयाँ सपना हो। कृषि र वनजङ्गल उत्पादनमा लगानी गर्दै ती उत्पादनहरूलाई निर्यातमुखी बनाउने दीर्घकालीन योजना छ। सयौं युवालाई जोड्दै छ, रोजगारी सिर्जना गर्दैछ। “संगै हिँड्न इच्छुक छन् भने हामी तत्पर छौं,” उनी भन्छन्।
नेपालमै केही गर्न सकिन्छ भन्ने उदाहरण उनी बनेका छन्। “अबको पुस्ताले सेवा, आईटी, उद्यम,सबै कुरा नेपालमै गर्न सक्छ,” उनी भन्छन्। सरकारले नीतिगत प्रोत्साहन र लगानीको सुरक्षामा ध्यान दिनुपर्छ भन्ने उनको सुझाव छ।
माटोमा लगानी, मुलुकको मुहार फेरिन्छ
आफ्नो आम्दानीको केही प्रतिशत देशमा लगानी गर्नुपर्ने सोच उनले बाल्यकालदेखि नै बोकिरहेका छन्। विदेशमा बसे पनि जन्मभूमिप्रतिको दायित्व नबिर्सने यस्तो सोचका युवाले मात्रै ‘समृद्ध नेपाल’ को सपना सम्भव बनाउने छन्।
सन्तोष आचार्यसंगको कुराकानीको आधारमा तयार पारिएको हो।