सेल्फी नै अन्तिम बन्यो

एक आप्रवासी परिवारको कहालीलाग्दो यात्रा,देश छाड्दै थिए, दैवले जिवनै खोस्यो!

एक आप्रवासी परिवारको कहालीलाग्दो यात्रा,देश छाड्दै थिए, दैवले जिवनै खोस्यो!
छत्र शंकर
३१ जेठ २०८२ ०:०७

अष्ट्रेलिया,  कहिलेकाहीँ जिन्दगीले यति कठोर मोड लिन्छ कि शब्दहरू शोकमा पनि असहाय लाग्छन्। प्रतीक जोशी परिवारको आजको कथा त्यस्तै एक मौन त्रास हो, जसले आकाशभित्रै सपनाको चितासँगै पाँच निर्दोष जीवनहरू खरानी बनायो।

६ वर्षको प्रतीक्षा, संघर्ष र समर्पणपछि सुरू हुँदै गरेको थियो ‘नयाँ जीवन’

प्रतीक जोशी, एक कुशल सफ्टवेयर इन्जिनियर,जसको एउटा सपना थियो , आफ्नी श्रीमती र तीन साना छोराछोरीसँग विदेशमा बसेर उज्यालो भविष्य निर्माण गर्ने। श्रीमती डा. कोमल व्यासले प्रतिष्ठित मेडिकल करिअर त्यागिन्, घर-सम्पत्ति बेचियो, झोला बाँधिए, भविष्यलाई अँगाल्न अन्तिम गेटबाट उनीहरू एअर इन्डियाको विमान १७१ चढे।

तर… त्यस बिहान खिचिएको सेल्फी नै अन्तिम बन्यो

सेल्फीमा मुस्कान थियो,आशाको, नवजीवनको, पारिवारिक पुनर्मिलनको। तर उडानको केही सेकेन्डमै विमान आवासीय क्षेत्रमा खस्दा सबै मुस्कान र सपनाहरू धुलोमा परिणत भए। अहिलेसम्म आएको रिपोर्टले  एक जना बाहेक कुनै पनि यात्रु जीवित नरहेको जनाउँछ।

 एक क्षणले सबै गुमायो…
त्यो उडान लन्डनको लागि मात्र होइन, एउटा उज्यालो जीवनका लागि थियो। तर नियतिको क्रूर घडीमा त्यो यात्रा अन्तिम बिदाई बन्यो।
ती तस्बिरमा देखिएको नानीहरूको निर्दोष हाँसो,बाबुआमाको उत्साहित अनुहार सबैले अहिले एक मूक आर्तनाद बोकेका छन्।

कसरी बिर्सन सकिन्छ यस्तो क्षण?
कसरी सम्झाउने आफूलाई कि जिन्दगी साँच्चै यति असुरक्षित हुन्छ?
कसरी भन्न सकिन्छ सन्तान गुमाएका आफन्तलाई, “धैर्य गर्नुहोस्”?
कसरी शान्त पार्न सकिन्छ त्यो पीडा, जुन अझै खबर नसुनिएको लाखौं सपना बोकेर विदेश जान खोजिरहेकाहरूको मनमा छ?

 श्रद्धाञ्जलीभन्दा बढी केही छैन…
जोशी परिवारको यो त्रासदीले केवल विमान दुर्घटनाको तथ्य मात्रै हैन, हजारौं आप्रवासी सपनाको कठोर यथार्थ देखाएको छ। यो हृदयविदारक घटना हामी सबैलाई फेरि सम्झाउँछ!

“बाँचुन्जेल माया गरौं, साथमा हाँसौं, र सपना देख्दा पनि सँगै समय बिताऔं। 

कारण  कहिलेकाहीँ सेल्फी नै अन्तिम सन्देश हुन सक्छ!”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको