क्यानबेरा । अष्ट्रेलियाको गृह मामिला विभागले हालै एक विदेशी नागरिकलाई देशनिकाला गरेको छ। उक्त व्यक्ति भिसाविनै अस्ट्रेलियामा बसोबास गर्दै अवैध रूपमा आप्रवासन सल्लाह दिँदै आएका थिए। उनीमाथि अस्ट्रेलियाली बोर्डर फोर्सले अनुसन्धान पश्चात् पक्राउ गरी हिरासतमा लिएर देशनिकाला गरेको हो।
१ सय बढी व्यक्तिसँग लिएको थियो पैसा
अनुसन्धान अनुसार, ती व्यक्तिले झण्डै १ सय भन्दा बढी भिसा आवेदकहरूसँग पैसा लिएर ‘प्रोटेक्सन भिसा’ आवेदनका लागि सहयोग गरेको पाइएको छ। यद्यपि, ती सबै आवेदनकर्ताहरू वास्तविक शरणार्थी थिएनन् भन्ने उनलाई स्पष्ट थाहा थियो। यसरी धोका दिँदै गरिएको कार्य न केवल गैरकानुनी थियो, यसले वास्तविक शरणार्थीहरूका आवेदन प्रक्रियामा समेत ढिलाइ गराएको अस्ट्रेलियाली अधिकारीहरूले बताएका छन्।
आप्रवासन सल्लाहका लागि कानुनी व्यवस्था कडा
अस्ट्रेलियाको कानुन अनुसार, दर्ता भएका माइग्रेसन एजेन्ट वा कानूनी व्यवसायीहरूसँग मात्र आप्रवासन सम्बन्धी सल्लाहका लागि शुल्क लिन पाइन्छ। अनधिकृत व्यक्तिबाट लिइने सल्लाह कानुनी अपराध मानिन्छ र त्यसविरुद्ध कडा कारबाही हुने व्यवस्था छ।
गृह मामिला विभागले नागरिकहरूलाई ठगीबाट बच्नका लागि दर्ता भएको माइग्रेसन एजेन्ट खोज्न www.mara.gov.au प्रयोग गर्न आग्रह गरेको छ। साथै, आफ्ना राज्य वा क्षेत्रमा रहेका शरणार्थी तथा आप्रवासन कानूनी सेवा प्रदायकबाट निःशुल्क सल्लाह लिन सकिने जानकारीसमेत दिएको छ।