मेलबर्न/ अस्ट्रेलियाको केन्द्रीय बैंकले मंगलबारको बैठकमा आधिकारिक क्यास रेट ३.८५ प्रतिशतमै यथावत् राख्ने निर्णय गरेको छ। यो निर्णयले ब्याजदरमा कटौतीको अपेक्षा गरेका अर्थशास्त्री र बजार विश्लेषकहरूलाई चकित पारेको छ।
फेब्रुअरी र मे महिनामा ब्याजदर घटाएको RBA ले लगातार तेस्रो बैठकमा दर यथावत् राखेको हो। जबकि पछिल्ला आर्थिक तथ्यांकहरूले मुद्रास्फीति घट्दै गएको र आर्थिक वृद्धिदर कमजोर देखाइरहेका थिए। मे महिनामा मुद्रास्फीति २.१ प्रतिशतमा झरेको थियो, जुन अप्रिलको २.४ प्रतिशतभन्दा कम हो। यस्तै, RBA ले प्राथमिकता दिने ट्रिम्ड मीन मुद्रास्फीति पनि साढे तीन वर्षयताकै न्यूनतम २.४ प्रतिशतमा झरेको छ।
RBA को बोर्डमा ६–३ मतले क्यास रेट नघटाउने निर्णय लिइएको हो। यो मत विभाजन पहिलोपटक सार्वजनिक गरिएको हो, जसलाई संस्थाको पारदर्शितातर्फको कदमका रूपमा हेरिएको छ। गभर्नर मिशेल बुलकले आज दिउँसो पत्रकार सम्मेलनमार्फत विस्तृत विवरण दिने अपेक्षा गरिएको छ। निर्णयपछि धेरै गृहस्वामीहरूका लागि तत्काल ऋण भुक्तानीमा राहत नआउने देखिएको छ।
बजारमा अब वर्षको अन्त्यसम्ममा ६१ बेसिस पोइन्ट बराबरको कटौतीको अपेक्षा गरिएको छ। आगामी अगस्ट बैठकमा २५ बेसिस पोइन्ट कटौतीको ८५ प्रतिशत सम्भावना बजारले मूल्यांकन गरिरहेको छ। RBA ले भने आफू तथ्यांकमा भर पर्ने बताउँदै आएको छ।