ब्रिसबेन – क्वीन्सल्याण्डस्थित नेपाली समुदायका प्रतिनिधिमण्डलले प्रिमियर डेविड क्रिसाफुल्लीसँग भेट गरी हालै ब्रिसबेनमा दुई वटा नेपाली स्वामित्वका सुनचाँदी पसलमा दिनदहाडै भएको डकैतीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सुरक्षा र राहतको माग गरेका छन् ।
प्रिमियरको कार्यालयमा सम्पन्न उक्त भेटमा प्रतिनिधिमण्डलले घटनाबाट समुदायमा उत्पन्न त्रास, मानसिक तनाव र असुरक्षाबारे जानकारी गराउँदै पीडित व्यवसायी तथा परिवारहरूलाई राहत प्याकेज उपलब्ध गराउन माग गरेका थिए। साथै, यस्ता घटनाबाट सबै समुदाय सुरक्षित रहन दीर्घकालीन सहकार्य र सुरक्षामूलक उपायमा सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।
प्रिमियर क्रिसाफुल्लीले सकारात्मक प्रतिक्रिया जनाउँदै दोषीहरूलाई कानुनी दायरामा ल्याउन सरकार दृढ प्रतिबद्ध रहेको बताए। साथै, राज्यभर सुरक्षा प्रवर्धनका लागि थप कदम चालिने आश्वासन समेत दिए।
भेटवार्ताको क्रममा क्वीन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्र (QNCC) को विकास योजनाबारे पनि छोटकरी छलफल भएको थियो। प्रिमियरले उक्त पहलप्रति आफ्नो समर्थन दोहोर्याउँदै विकास अनुमतिपछि पुनः भेटघाट गर्ने प्रतिबद्धता जनाए।
भेटमा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा राज्य संयोजक शम्भु गैशे, नेपाली एसोसिएसन क्वीन्सल्याण्डका अध्यक्ष हेमाङ शर्मा, तथा QNCC का अध्यक्ष केशव शर्मा तथा होम पौेडेलको सहभागीता रहेको थियो ।
यसैबीच, पीडितहरूप्रति निरन्तर समर्पित रहँदै आएकी सांसद फियोना सिम्पसनप्रति समेत प्रतिनिधिमण्डलले आभार व्यक्त गरेको छ। प्रहरी प्रशासन, पीडित परिवार र समुदायबीच समन्वय कायम गर्न उहाँले देखाउनुभएको सक्रियता र सहानुभूतिपूर्ण व्यवहारको नेपाली समुदायले उच्च मूल्याङ्कन गरेको छ।