अनेसास न्यू साउथ वेल्स च्याप्टरद्वारा ११२औँ भानु जयन्ती ‘कविता महोत्सव २०२५’ सम्पन्न

 अनेसास न्यू साउथ वेल्स च्याप्टरद्वारा ११२औँ भानु जयन्ती ‘कविता महोत्सव २०२५’ सम्पन्न
नेपालआईज
२९ असार २०८२ २३:४०

 

सिड्नी ।  अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यू साउथ वेल्स च्याप्टरले गत जुलाई १२, शनिबार सिड्नीको ब्ल्याकटाउनस्थित प्रिशा इभेन्टमा ११२औँ भानु जयन्ती ‘अनेसास कविता महोत्सव २०२५’ आयोजना गरी भव्यताका साथ सम्पन्न गरेको छ। अनेसासका अध्यक्ष डा. प्रकाश पौडेलको सभापतित्वमा भएको उक्त कार्यक्रम नेपाली राष्ट्रिय गानसँगै सुरु भएको थियो। कार्यक्रमका प्रमुख अतिथि एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल र विशेष अतिथि वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले पानसमा दियो बाली तथा भानुभक्तप्रति श्रद्धासुमन अर्पण गरेर कार्यक्रमको उद्घाटन गर्नुभयो।

अनेसास बोर्ड अफ अनर’ को अनावरण

सोही अवसरमा एनआरएनएका अध्यक्ष अनिल पोख्रेल र अनेसासका पूर्व अध्यक्षद्वय महेन्द्र पौडेल तथा सानु घिमिरेले संयुक्त रूपमा ‘अनेसास बोर्ड अफ अनर’ को अनावरण गर्नुभयो। यस बोर्डमा अनेसासको स्थापनाकालदेखि हालसम्मका अध्यक्षहरूको नाम र कार्यकाल उल्लेख गरिएको छ।

तीन दर्जनभन्दा बढी कविद्वारा कविता वाचन

आदिकवि भानुभक्तप्रति श्रद्धासुमन व्यक्त गर्दै दमन्ती पराजुलीले भानुभक्तको कविता वाचन गरेर सुरु भएको कविता महोत्सवमा विशेष अतिथि वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, कवि तथा साहित्यिक सर्जकहरू जीवराज घिमिरे, त्रिपुरा पौडेल लगायत करिब तीन दर्जन कविहरूले आ-आफ्ना रचना वाचन गर्नुभयो। कविता वाचन गर्ने अन्य कवि तथा साहित्यकारहरूमा महेन्द्र पौडेल, सानु घिमिरे, निस्प्रभ सजी, जितेन्द्र मल्ल, महेश्वर शर्मा, सौरभ किरण श्रेष्ठ, प्रज्ञा पनेरु, सुरेन्द्र दवाडी, प्रकाश पन्थी, रिचा गौतम, जानकी पौडेल, सन्तोष शर्मा, डा. गणेश केसी, सुमन थापा संगम, मुक्तिराम पोख्रेल, चतुर्भुज खरेल, भावना पराजुली, जेनिशा गौतम, विष्णु घिमिरे, आयाम घिमिरे, डा. राजु मानन्धर, प्रवीण टन्डन, राम कोइराला, राहुल अर्याल, नेत्र प्रसाद पौडेल, सन्तोष रिजाल लगायत हुनुहुन्थ्यो । 

विदेशी भूमिमा नेपाली भाषा साहित्यको महत्त्व

कार्यक्रमलाई शुभकामना मन्तव्य दिँदै एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेलले विदेशी भूमिमा नेपाली भाषा तथा साहित्यको महत्त्व र अनेसासको सक्रियताको प्रशंसा गर्नुभयो। उहाँले एनआरएन अस्ट्रेलिया नेपाली भाषा र साहित्यको उत्थानमा प्रतिबद्ध रहेको बताउँदै आगामी दिनहरूमा अनेसाससँग एनआरएनएले अझ उपलब्धिमूलक सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

सहयोगी तथा प्रायोजकहरूलाई सम्मान

कार्यक्रममा सहयोग एवं प्रायोजन गर्ने व्यक्तित्वहरू अनिल पोख्रेल, रञ्जित शाह, चतुर्भुज खरेल, बिनोद कुँवर र मनकाश पियालाई संस्थाका अध्यक्ष र महासचिवले ‘टोकन अफ लभ’ हस्तान्तरण गर्नुभयो। कार्यक्रम संयोजनमा सहयोग पुर्‍याउनुहुने जेनिशा गौतम र मिडियामार्फत विशेष सहयोग पुर्‍याउनुहुने बचन न्युजका जीवन रायमाझीलाई समेत सम्मान गरियो। यसैगरी, निरन्तर साहित्यिक सक्रियता र पुस्तक प्रकाशनसहित अनेसासलाई विशेष योगदान पुर्‍याउनुहुने संस्थाका सल्लाहकार राम कोइरालालाई ‘अनेसास वर्ष अवार्ड’ प्रदान गरियो।

अनेसासका अध्यक्ष डा. पौडेलले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउनुहुने सम्पूर्ण सहभागी साहित्यकार तथा कविहरू, श्रोतागणहरू, पत्रकार साथीहरू, प्रायोजकहरू र अतिथिहरूलाई आभार तथा धन्यवाद दिँदै कार्यक्रमको समापन गर्नुभयो। कार्यक्रमको सञ्चालन संस्थाकी महासचिव भावना पराजुलीले कुशलतापूर्वक गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको