काठमाडौँ । सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका व्यक्तिगत जीवनसम्बन्धी टिप्पणी र भिडियोहरूले ध्यान खिचेपछि विष्णु सापकोटाले सार्वजनिक रूपमा आफ्नो धारणा व्यक्त गरेका छन्। उनले विशेष गरी TikTok लगायतका प्लेटफर्महरूमा आफूलाई लक्षित गरी गरिएको टीका–टिप्पणी र भिडियोहरूप्रति गम्भीर आपत्ति जनाउँदै कानुनी प्रक्रिया अघि बढाइसकेको स्पष्ट पारेका छन्।
उनका अनुसार विगतमा सम्बन्ध विच्छेद पश्चात् दुवै पक्षको सहमतिको आधारमा मौन रहने निर्णय गरिएको थियो। तर हाल सामाजिक सञ्जालमा फेरि सम्बन्धित पुराना घटनाहरू सार्वजनिक गरिनु, अपमानजनक टिप्पणीहरू गरिनु र मानहानि हुने गरी सामग्रीहरू प्रस्तुत हुनु आफैँमा पीडादायी भएको उनले जनाएका छन्।
“चुप लागेर बस्नु मेरो कमजोरी होइन, न त बोल्ने ठाउँ नपाएर हो,” सापकोटाले भनेका छन्, “सम्बन्ध समाप्त भएपछि बदला लिने, गिज्याउने, खिसीटिउरी गर्ने मेरो स्वभाव होइन।”
उनले सम्बन्धको अन्त्य पनि सम्मानपूर्वक हुनुपर्छ भन्ने विश्वास दोहोर्याउँदै अदालतको निर्णयलाई सम्मान गर्ने धारणा राखेका छन्। साथै, “हिजोको दिनमा माया गरेर, परिवारको उपस्थितिमा, आदरपूर्वक घर भित्र्याइएको व्यक्तिको सम्मानका कारण पनि म समाप्त भइसकेको सम्बन्धबारे सार्वजनिक रूपमा बोल्न उचित ठान्दिनँ,” भन्दै दुवैले समझदारीमा सम्मानित अदालतबाट निर्णय भइसकेको विषयलाई दोहोर्याएर सामाजिक सञ्जालमा ल्याउनु स्वयं अदालतको अपमान हुने बताएका छन्।
“सम्बन्ध माया र सम्मानका साथ सुरु भएको थियो, त्यो लामो समय टिक्न नसके पनि त्यसको अन्त्य पनि सम्मानका साथ हुनुपर्छ भन्ने मेरो दृढ विश्वास हो,” सापकोटाले भनेका छन्।
उनले आत्मोपचार (self-healing) सबैको आ-आफ्नै तरिका हुने जनाउँदै, आफूले भोगेको पीडा, मानसिक सङ्घर्ष र बाँच्नका लागि गरेका प्रयासहरू आफ्नो निजी अनुभव रहेको बताएका छन्। “बल्ल बल्ल म यस अवस्थाबाट अगाडि बढ्न सकेको थिएँ,” सापकोटाले भनेका छन्। करिब १ वर्षको अलग बसाइ र ६ महिनाअघि सम्बन्ध विच्छेद भइसकेको अवस्थामा पुराना कुराहरू पुनः सामाजिक सञ्जालमा ल्याइनु आफ्ना व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनमा गम्भीर असर पर्ने कुरा उनले उठाएका छन्।
उनले पछिल्लो समय धम्कीपूर्ण सन्देशहरू, कठोर टिप्पणीहरू र चरित्र हत्या हुने गरी गरिएको व्यवहारले आफू गम्भीर मानसिक पीडाबाट गुज्रिरहेको उल्लेख गरेका छन्। “यस्ता संवेदनशील विषयहरूलाई सामाजिक सञ्जालमा बहस गर्नु न नैतिक रूपमा, न मानवीय रूपमा, न कानुनी रूपमा उचित ठहर्दछ,” सापकोटाले भनेका छन्।
सापकोटाले हाल अस्ट्रेलिया र नेपाल दुवै स्थानमा कानुनी सल्लाह लिँदै गरेको र व्यक्तिगत प्रतिष्ठा तथा व्यावसायिक क्षतिपूर्ति माग गर्दै कानुनी प्रक्रिया अघि बढाइसकेको जानकारी दिएका छन्।
“मेरो मौनतालाई कमजोरी ठान्नु वा त्यसलाई दोष स्वीकारेको सङ्केत मान्नु पूर्ण रूपमा अनुचित हुनेछ,” उनले भनेका छन्। साथै, सम्बन्धित विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अर्का पक्षप्रति गाली, तिरस्कार वा अमर्यादित व्यवहार नगर्न आग्रह गर्दै सबैलाई मर्यादित व्यवहार गर्न आह्वान गरेका छन्।
“प्रत्येक व्यक्तिको व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनको मर्यादा हुन्छ, जसको सम्मान र संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो,” उनले भनेका छन् ।