भिनाजुको भिसा स्वीकृत गर्ने अष्ट्रेलियाका पूर्व अध्यागमन कर्मचारीलाई जेल सजाय

भिनाजुको भिसा स्वीकृत गर्ने अष्ट्रेलियाका पूर्व अध्यागमन कर्मचारीलाई जेल सजाय
नेपालआईज
४ साउन २०८२ २०:५९

क्यानबेरा – अष्ट्रेलियाको गृह मामिला विभागकी एक पूर्व अध्यागमन अधिकृतलाई पदीय दुरुपयोग र प्रतिबन्धित डाटामा अनाधिकृत पहुँच पुर्‍याएको अभियोगमा दोषी ठहर गर्दै सजाय सुनाइएको छ। उनले आफ्ना भिनाजुको भिसा आवेदन स्वीकृत गरेको र विभागीय कम्प्युटर प्रणालीमा रहेका १७ जना व्यक्तिको गोप्य जानकारी अवैध रूपमा हेरेको पाइएपछि कारबाही गरिएको हो।

एन म्याकक्यान नामकी ती पूर्व अधिकारीलाई कूल ८ महिनाको जेल सजाय सुनाइएको छ। यद्यपि, उनलाई १०,००० डलरको जमानतमा १२ महिनासम्म राम्रो आचरणमा बस्ने शर्तमा तत्काल रिहा गरिने आदेश दिइएको छ।

सन् २०१६ देखि २०२१ सम्मको अवधिमा, म्याकक्यानले आफ्ना साथीहरू र चिनजानका व्यक्तिसहित १७ जनाको रेकर्ड १,१६४ पटक अवैध रूपमा एक्सेस गरेकी थिइन्।

सन् २०१९ नोभेम्बरमा म्याकक्यानका भिनाजुको पर्यटक भिसा अस्वीकृत भएको थियो। त्यसपछि, डिसेम्बर ६ मा पुनः भिसाका लागि आवेदन दिइयो। आवेदन दर्ता भएको करिब १६ मिनेटमै म्याकक्यानले आफूलाई भिसा निर्णयकर्ता तोकीन् र तीन दिनमै भिसा स्वीकृत गरिन्।

आफ्नो दोष स्वीकार गरेपछि उनलाई क्रिमिनल कोड एक्ट १९९५ (Cth) अन्तर्गत धारा १४२.२(२) बमोजिम ‘सार्वजनिक पदको दुरुपयोग’ र धारा ४७८.१(१) अन्तर्गत ‘प्रतिबन्धित डाटामा अनाधिकृत पहुँच’ को आरोपमा दोषी ठहर गरिएको हो।

यो कारबाही ‘अपरेशन कार्बुनुप’ नामक संयुक्त अनुसन्धानको परिणाम हो, जुन अष्ट्रेलियन कानून प्रवर्तन अखण्डता आयोग (ACLEI) र गृह मामिला विभागले सुरु गरेका थिए। जुलाई १, २०२३ देखि यो अनुसन्धान राष्ट्रिय भ्रष्टाचार विरोधी आयोग (NACC) मार्फत अगाडि बढाइएको हो। यस मुद्दाको अभियोजन कमनवेल्थका सार्वजनिक अभियोजन निर्देशकको कार्यालय (CDPP) ले अघि सारेको हो।

जुलाई १, २०२३ यता NACC द्वारा हेरिएका मुद्दामध्ये यो नवौं  हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर