को हुन् ति गैह्र आवासीय नेपाली जसले कमेडी च्याम्पियन निर्देशक विशाल भण्डारीलाई आर्थिक शोषण गरे ?

को हुन् ति गैह्र आवासीय नेपाली जसले कमेडी च्याम्पियन निर्देशक विशाल भण्डारीलाई आर्थिक शोषण गरे ?
नेपालआईज
५ साउन २०८२ ५:०५

काठमाडौं । नेपालका सबैभन्दा लोकप्रिय हास्य टेलिभिजन कार्यक्रम कमेडी च्याम्पियन र कमेडी नाइट विथ च्याम्पियन्स का निर्देशक तथा प्रस्तोता विशाल भण्डारीले आफूमाथि भएको आर्थिक शोषण र कानुनी दवाबबारे गम्भीर उजुरी गरेका छन्।

उनका अनुसार, करिब १८/१९ महिना पहिले आफूलाई गैरआवासीय नेपाली (NRN) दाबी गर्ने एक व्यक्तिले ३.५ करोड रुपैयाँ लगानी गरी कम्पनीमा ३० प्रतिशत सेयर लिएर प्रवेश गरेका थिए। दुई पक्षबीच २४ महिनासम्म लगानी फिर्ता ननिकाल्ने स्पष्ट सहमति पनि भएको थियो।

कमेडी च्याम्पियन सिजन ३ सञ्चालनका लागि तत्काल १.५ करोड दिने र मुनाफा आएपछि बाँकी रकम पुर्याउने मौखिक सहमतिपछि ती लगानीकर्ताका वकिलले कम्पनीको सेयर बाँडफाँड गरी रजिष्ट्रार कार्यालयमा अपडेट गरेका थिए। कम्पनीको सबै आर्थिक कारोबारका चेकहरूमा विशाल भण्डारीको एकल हस्ताक्षर हुने व्यवस्था समेत गरिएको थियो।

तर सिजन ३ सकिन नपाउँदै ती व्यक्तिले पैसा फिर्ता माग्न थाल्दा भण्डारीमाथि दबाब र यातना सुरु भयो। उक्त लगानीकर्ताले कम्पनीको चेक प्रयोग गरी बैंकिङ कसुरको मुद्दा दायर गराउनदेखि २ करोड ४० लाख रुपैयाँ असुलीसम्म गरेका थिए। भण्डारीका अनुसार, “हरेक बैंक कारोबारको प्रमाण मसँग छ। तर ठूलो रकम फिर्ता नगरी आफ्नो पहुँच र चिनजानको दुरुपयोग गरी कानुनी र मानसिक दबाब दिइएको छ।”

कम्पनीका बाँकी सेयरधनीहरूले आर्थिक अपचलनसम्बन्धी मुद्दा दायर गरिसकेका छन् र ती मुद्दाहरू जिल्ला अदालत काठमाडौं तथा उच्च अदालत पाटनमा विचाराधीन छन्। साथै, भण्डारीले ती लगानीकर्ताविरुद्ध अपराधिक लाभसम्बन्धी मुद्दा पनि प्रहरी परिसर काठमाडौंमा दर्ता गराइसकेका छन्।

उक्त लगानीकर्ताले मुद्दा चलाएर कार्यक्रम सञ्चालनमा निरन्तर बाधा पुर्‍याउने, कम्पनीको खाता रोक्न धम्की दिने, कर्मचारीको तलब रोक्ने लगायतका गतिविधिहरू गरिरहेको भण्डारीले बताएका छन्। सिजन ३ को विजेतालाई दिने गाडी उपहार समेत अझै दिन नसकिएको अवस्था रहेको छ।

भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा सहयोगको लागि जानकारी गराएको पनि उल्लेख गरेका छन्, तर त्यो जानकारी माथिसम्म पुग्यो कि पुगेन, अझै अनिश्चित छ। “यो लडाइँ म मात्रको होइन, मेरो टिममा काम गर्ने १००/११० जनाको दैनिकी र भविष्यको सवाल हो,” भण्डारीले भनेका छन्।

अन्त्यमा विशाल भण्डारीले भनेका छन्, “सरकार र कानुन छ भने म र मेरो टिमलाई न्याय र काम गर्ने वातावरण चाहियो। हामी यही देशमै बसेर दर्शक हसाउन चाहन्छौं।” उनले ती व्यक्तिको नाम र तस्बिर नखुलाउने निर्णय गरेका छन् ताकि उनका परिवार सदस्यहरू लज्जित नहुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर