क्रिस्टल क्यासल यात्रा: स्फटिकको शहरमा नेपाली अनुभूति

क्रिस्टल क्यासल यात्रा: स्फटिकको शहरमा नेपाली अनुभूति
दीपकप्रसाद अर्याल / ब्रिसबेन, अस्ट्रेलिया
५ साउन २०८२ ४:३५

जाडो मौसमको आफ्नै लय हुन्छ, चिसो हावाले शरीर त कठ्याङ्ग्राउँछ, तर पारिलो घामले आत्मासम्म तातो फैलाइदिन्छ। आजको दिन पनि त्यस्तै छ, नीलो आकाश खुल्ला, सूर्यका किरणहरू सुनौलो मुस्कान झैँ पृथ्वीमा पोखिँदै छन्। घ्यू रङ्ग रङ्गले रंगिएका घरहरूमा घामको छिर्का पर्दा उनीहरू आफैँ झलमल्ल चम्किरहेका छन्। कक्रिएको जाडोले केही तन्कन खोजेको शरीर र भोलि सोमवारबाट विद्यालय जानुपर्ने नातिनी एड्रिनाको बिदा सकिन लाग्दा मनमा उठेको इच्छा थियो कुनै चम्किलो, शान्त र सौन्दर्यले भरिएको ठाउँ घुम्न जाने। त्यसै लक्ष्यका साथ हाम्रो पाँच जनाको परिवारले मोरेफिल्डबाट यात्रा आरम्भ गर्‍यौँ New South Wales राज्यको Byron Bay नजिक रहेको Crystal Castle and Shambhala Gardens को तर्फ।

सार्वजनिक बिदा परेकाले सडकहरू उत्साहित यात्रुहरूले भरिएका थिए। समुद्रका छालहरू जस्तै बगिरहेका गाडीहरू, अनुहारमा छुट्टीको रमाइलो देखिने यात्रुहरू, र छेउछाउका हरियालीले हामीलाई लागिरहेको थियो हामी एउटा अनौठो अनुभव तर्फ उन्मुख छौँ। सडक समथर थियो, तर मन उकालो। हरिया घाँसे मैदानहरूमा गाई, कपडा ओढेका घोडाहरू घाम तापिरहेका देखिन्थे। फाँटहरू, केराका झुन्डहरू, सुन्तला पाकेर पहेँलिएका रूखहरू यी सबै दृश्यहरूले प्रकृतिसँगको हाम्रो दूरी घटाइरहेका थिए। जति माथि चढ्दै गयौँ, त्यति नै मनमा उत्सुकता पलाउँदै गयो। फाँट पाखाका बिचबाट एकाएक देखा पर्‍यो Byron Bay को सेतो लाइट हाउस र त्यो मुनि अनन्त निलो आकाशमा फैलिएको प्रशान्त महासागर। आजको दिन, आजको दृश्य र आजको अनुभूति सबै नै क्रिस्टल जस्तै स्वच्छ, पारदर्शी र चम्किला लागिरहेका थिए। शान्तिको स्पर्श हाम्रो गाडी उकालो लाग्दै जाँदा, चारैतिर हरियालीले घेरेको त्यो बाटोले हामीलाई केही विशेष तर्फ डाकिरहेको जस्तो लाग्थ्यो। यो क्षेत्रको प्रकृति आफ्नै लयमा बोल्दै थियो चुपचाप, तर गहिरो। जब हामी क्रिस्टल क्यासलको प्रवेशद्वारमा पुग्यौँ, वातावरणमा एउटा आध्यात्मिक कम्पन महसुस भयो। त्यहाँ प्रवेश गर्न शुल्क लाग्थ्यो, जुन हामीलाई यहाँका दृश्यहरूको सामुन्ने अत्यन्तै सस्तो लाग्यो। शान्तिको झन्डा र स्वयम्भूको झझल्को जति भित्र छिर्दै गयौँ, त्यति नै नेपाली पहाडहरूको स्मृति मनमा आउँथ्यो। हरियालीभित्र फहराइरहेका तिब्बती प्रार्थनाका रङ्गिन झन्डाहरूले मलाई नेपालको स्वयम्भूनाथ र बौद्धनाथको सम्झना दिलायो। ती झन्डाहरूमा अङ्कित मन्त्रहरू“ॐ मणि पद्मे हुँ” हावासँगै बग्दै, आकाश र वनस्पतिको बिचमा शान्तिको सन्देश फैलाइरहेका थिए। यही हरियालीभित्र, सुन्दर चौतारो बनाएर स्थापना गरिएको थियो Buddha’s Bodhi Tree जहाँ बुद्धले ज्ञान प्राप्त गरे भन्ने विश्वास गरिएको पीपलको वृक्षको प्रतिनिधि। त्यहाँ बुद्धका मूर्तिहरू, चित्रकला, र ध्यान केन्द्रहरू देख्दा लाग्थ्यो बुद्ध धर्मको सन्देश पृथ्वीका कुना कुनामा बगिरहेको छ।

ध्यान, बाल उद्यान  र सौन्दर्यको समागम बगैँचाभित्र रहेका फूलहरू, पत्थरले सजिएका बाटाहरू र स-साना वनस्पतिहरूको कलात्मक मिलन हेर्दा लाग्थ्यो यहाँ प्रकृति र आत्मा एकै लयमा बगिरहेका छन्। बाल उद्यानमा रमाइरहेका बालबालिकाहरू, ध्यान कक्ष (Peace Dome) मा आँखा चिम्लेर बसेका साधकहरू, अनि हातमा कापी लिएर भावना टिपिरहेका केटाकेटीहरूयी सबै दृश्यहरूले क्रिस्टल क्यासललाई केवल रमणीय स्थान मात्र नभई आध्यात्मिक शिक्षालय पनि बनाएको देखिन्छ। बुद्ध, गणेश र लक्ष्मी समावेशी सौन्दर्य त्यहाँ स्थापित गणेश भगवान् र लक्ष्मी माताका भव्य मूर्तिहरूले यो ठाउँको धार्मिक समावेशिता र सांस्कृतिक विविधता प्रस्तुत गर्छ। यो ठाउँ कुनै एक धर्म वा परम्परामा सीमित छैन, यहाँ समानता, सम्मान र शान्तिको सन्देश बोकेको सम्पूर्ण मानवता समेटिएको छ।

नेपालको सोच सुनको थाल लिएर माग्न गएको जोगी ? यी दृश्य हेर्दा हाम्रो मनमा एक तीतो प्रश्न उब्जियो, हामी नेपालीहरू कहाँ चुक्यौँ? हाम्रो देश बुद्ध जन्मेको भूमि, प्राचीन सम्पदा र सांस्कृतिक वैभवले भरिएको छ, तर हामी त आफ्नै सुन जस्तो सम्पदा जोगाउन पनि सकेनौँ। अस्ट्रेलियालीहरूले प्रकृति, धर्म र कला मिलाएर पर्यटनको यस्तो सुन्दर नमुना तयार पारेका छन् । जुन संसारभरका मानिसहरूलाई आकर्षित गर्छ। एक आत्मीय बिदाइ अन्तिम भ्रमणको अमिट छाप हामी त्यहाँ केही घण्टा मात्र बितायौँ, तर त्यो अनुभूति जीवनभरको बन्यो। “यो अस्ट्रेलियाको मेरो अन्तिम भ्रमण हो” भन्ने भाव बोकेको एउटै पर्यटकको टिप्पणीले हाम्रो पनि मन छोयो, “शान्तिको यो निजी बगैँचा, जीवनलाई आत्मसात् गर्ने पवित्र स्थल हो।” यहाँ हिप्पी हुन जरुरी छैन, क्रिस्टल प्रेमी हुन जरुरी छैन । यहाँ प्रकृति, मौनता र फरक केही महसुस गर्न चाहने सबैका लागि ठाउँ छ। स्फटिक र बौद्ध संस्कृतिको सम्मिश्रण क्रिस्टल क्यासलमा प्रवेश गर्दा आँखा चिम्लेर केही क्षण शान्त बस्न मन लाग्छ। यहाँको वातावरण नै यस्तो छ, जहाँ स्फटिक पत्थर, बुद्ध मूर्तिहरू, प्रार्थना झन्डाहरू र हरियालीले मिलेर शान्तिको एउटा नयाँ परिभाषा दिन्छन्।

क्रिस्टल क्यासलको सबैभन्दा अनौठो पक्ष भनेकै यहाँ स्फटिक पत्थर र बौद्ध संस्कृतिको सङ्गम हो। स्फटिकलाई केवल सौन्दर्यको निम्ति होइन, ध्यान, आत्म शुद्धि र सकारात्मक ऊर्जाको स्रोतका रूपमा प्रस्तुत गरिएको छ। बौद्ध दर्शनको शुद्धता, ज्ञान र निर्वाणका विचारहरू स्फटिकमार्फत जीवन्त बनाइएका छन्। स्फटिकको धार्मिक प्रयोग र सांस्कृतिक महत्त्व यहाँ राखिएका स्फटिक माला, थुप्रा (crystal piles), स्फटिक फूल (lotus) र थुप्रा अगाडि सजिएका स्फटिक टुक्राहरूले पूजा स्थलमा आत्मिक ऊर्जा थप्ने विश्वास गरिन्छ। बौद्ध साधकहरू ध्यान गर्दा प्रयोग गर्ने स्फटिक माला जसमा १०८ दाना यहाँ भेटिन्छन्, जसले “ॐ मणि पद्मे हुँ” जस्ता मन्त्रको पुनरावृत्तिमा चित्त एकाग्र पार्न सहयोग पुर्‍याउँछ। यी वस्तुहरूलाई निर्मलता, शान्ति र आध्यात्मिक प्रगतिको प्रतीकका रूपमा देख्न सकिन्छ। स्फटिक पत्थरहरू: विविधता, गुणस्तर र अन्तर्राष्ट्रियता यद्यपि अस्ट्रेलियामा पनि स्फटिक पाइन्छ, क्रिस्टल क्यासलमा अर्जेन्टिना, ब्राजिल, उरुग्वे, मडागास्कर आदि देशहरूबाट ल्याइएका ठुला, गुणस्तरीय, रङ्गीचङ्गी स्फटिक राखिएका छन्। सायद यिनको अनुपम आकार, दुर्लभता र सौन्दर्यले पर्यटकको मन लोभ्याउने भएकाले यस्ता पत्थरहरू आयात गरिएको हुन सक्छ। यहाँ घुम्दा यस्तो लाग्छ प्राकृतिक र आध्यात्मिक सम्पदाले भरिएको एउटा सङ्ग्रहालय हेर्दै छु जस्तो। निजी प्रयत्नबाट बनेको शान्तिको संसार क्रिस्टल क्यासल कुनै सरकारी आयोजना होइन।  यो नरेन किङ र सोनो किङ नामक जोडीको निजी प्रयास, अनुसन्धान र आध्यात्मिक यात्राको प्रतिफल हो। उनीहरूले यो स्थानलाई प्रकृति, दर्शन र सौन्दर्यको मेलगालाबाट बौद्ध भावनाले भरिएको वनस्पति उद्यान बनाएका छन्।

यहाँको वातावरण, बनावट र साजसज्जाबाट उनीहरूको ध्यान, मेहनत र निष्ठा स्पष्ट झल्किन्छ। यस्तो देख्दा लाग्छ देशको पर्यटन विकासमा केवल सरकार होइन, प्रत्येक सचेत नागरिकको योगदान कति आवश्यक र प्रभावकारी हुन्छ भन्ने सन्देश पनि यहाँबाट पाइन्छ। समृद्धिको नयाँ बाटो: स्फटिक र पर्यटन क्रिस्टल क्यासल केवल घुम्ने स्थल होइन, यो सिकाइको स्थल हो। यसले सिकाउँछ धार्मिक चिन्तन, प्राकृतिक सौन्दर्य र व्यावसायिक दृष्टिकोण मिलाएर कसरी रोजगारी, आर्थिक आय र समाजमा शान्तिको सन्देश फैलाउन सकिन्छ। स्फटिकजस्ता मौन र चिप्ला पत्थरहरूलाई ध्यान र उपचारको साधन बनाउँदै विश्वभरबाट मानिसलाई आकर्षित गर्ने कुरा सामान्य सोचबाट सम्भव हुँदैन। यसले प्रमाणित गर्छ, आध्यात्मिक चेतना र सांस्कृतिक जरा गाढा भए पर्यटन स्थायित्व, शान्ति र समृद्धिको मार्ग बन्न सक्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको