Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
निरन्तर संघर्ष र त्यही संघर्षबाट प्राप्त अनुभव, भोगाइ र सिकाइले मानिसलाई जीवनमा अगाडि बढ्न प्रेरणा दिन्छ भन्ने भनाइ मीना मल्लको जीवनमा मिल्दोजुल्दो देखिन्छ।
नेपालको सुदूरपश्चिम कैलाली जिल्लाको धनगढीमा जन्मिएकी मीना हाल अष्ट्रेलियाको भिक्टोरिया राज्यस्थित सेपार्टन सहरमा बसोबास गर्दै आएकी छन्। उनी हाल गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि भिक्टोरियाबाट नारी निकुञ्ज सदस्य पदमा उम्मेदवारी दिएकी छन्।
नेपालआइजसँगको कुराकानीमा उनले भनिन्, “मेरो एउटै सपना छ—भिक्टोरियामा रहेका मुख्यतः नेपाली समुदायबीच सहकार्य गर्दै सामुदायिक समावेशीकरणमा जोड दिने।”
धनगढीको पञ्चोदय उच्च माध्यमिक विद्यालयबाट स्कुले शिक्षा सकेकी मीनाले त्रिभुवन विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेकी हुन्। शिक्षासँगै व्यवहारिक ज्ञानसमेत उनीसँग छ। शिक्षण पेशामार्फत समाजका विभिन्न तहका व्यक्तिहरूसँग अन्तक्र्रिया गर्दै उनले व्यापक अनुभव बटुलेकी हुन्। उनी थप्छिन, म शैक्षिक योग्यता र अनुभवका आधारमा म एक अनुभवी र सक्षम माइक्रोबायोलोजिस्ट पनि हुँ।
अहिले उनी Integrity Australia मा प्राविधिक विश्लेषकको रूपमा कार्यरत छन्। साथै, एक स्थानीय नर्सिङ होममा अग्रपंक्तिको स्वास्थ्यकर्मीको भूमिकामा पनि कार्यरत छिन्। यस्ता संस्थाहरूमा काम गर्दा उनले नेतृत्वको खाँचो महसुस गरिन् र त्यही खाँचो पूर्ति गर्न उम्मेदवारी दिन प्रेरित भएकी हुन्।
नेपालमा महिलाहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउन तथा खानपिन, सरसफाइ र स्वास्थ्य पहुँचमा सुधार ल्याउन उनी विभिन्न सामुदायिक संस्थासँग सक्रिय रूपमा संलग्न भएकी छन्। अष्ट्रेलियामा गुल्बर्न भ्याली कम्युनिटी अर्गनाइजेसनसहित अन्य संस्थाहरूसँग उनी स्वयंसेवक, बहुसांस्कृतिक स्वास्थ्य अधिकार र चेतनाका अधिवक्ता तथा एक प्रेरणादायी उदीयमान नेताका रूपमा आबद्ध छिन्।
सेपार्टन कम्युनिटी सेन्टरमा उनले करिब दुई वर्ष स्वयंसेवकको रूपमा योगदान दिइन्। ग्रेटर सेपार्टन वुमेन्स चार्टर एडभाइजरी कमिटीमा तीन वर्षसम्म बोर्ड सदस्यको जिम्मेवारी सम्हालिन्। मुरुपना रोटरी क्लबमा उनी सक्रिय सदस्यको रूपमा आबद्ध रहँदै आएकी छन्। दिदीबहिनी समाज भिक्टोरियामा उनले चार वर्ष युनिट कोअर्डिनेटरको रूपमा सेवा दिइन्। माइग्रेटेड महिलाहरूको सञ्जाल ‘द वुर बेल्स’ की संस्थापक तथा मिडिया संयोजकको भूमिका पनि उनले निर्वाह गरेकी छन्। भिक्टोरियन मल्टिकल्चरल कमिशनको क्षेत्रीय सल्लाहकार परिषदमा उनी सक्रिय रूपमा सहभागी छिन्। गुल्बर्न भ्याली हेल्थ कम्युनिटी एडभाइजरी कमिटीमा सदस्यको रूपमा संलग्न छिन् भने हाल गुल्बर्न मरे कम्युनिटी लिडरसिप बोर्डमा उनी कार्यरत छन्।
एनआरएनएमा उम्मेदवारी दिंदै उनले समुदायप्रति प्रतिबद्धता जाहेर गरेकी छन्। उनका शब्दमा, “हाम्रो दृष्टिकोण, उद्देश्य र सामुदायिक आवाजहरू सुन्न, देख्न र कदर गर्नका लागि सम्मानित संस्थाहरूसँग बृहत रूपमा संलग्न हुनेछु। एनआरएनए टोलीका विविध आवाजहरूसँग मिलेर काम गर्ने र हाम्रो आवाज सुनिश्चित गर्ने यो मेरो सौभाग्य हुनेछ। नेपाल, अष्ट्रेलिया र विश्वभरका बहुसांस्कृतिक र मूलधार समुदायबीचका अवरोध हटाउनमा मेरो प्रमाणित ट्र्याक रेकर्ड नै मेरो शक्ति हो।”
उनका प्राथमिकतामा शिक्षा, स्वास्थ्य, खेलकुद, संस्कृति र मनोरञ्जनमा नेपाली समुदायको पहुँच विस्तार गर्ने, नेतृत्व निर्णयलाई समावेशीकरण, इमानदारी, पारदर्शिता र जवाफदेहिताका आधारमा कार्यान्वयन गराउने, सबै लिङ्गका व्यक्तिका लागि समान अवसर सुनिश्चित गर्ने, र महिलाहरूले सामना गरेका चुनौती, अवसर तथा मुद्दाहरूलाई उजागर गर्दै सुरक्षित तथा प्रभावकारी रूपान्तरण ल्याउने योजना छन्।
उनी भन्छिन्, “म मातृभूमिको सेवा गर्न पाउँदा गर्व गर्छु। नैतिक मूल्यमान्यतामा आधारित अर्थपूर्ण सम्बन्ध नै समुदायलाई सशक्त बनाउने प्रमुख मार्ग हो।”
मीना मल्ल भन्छिन्, “म क्षेत्रीय भिक्टोरियाको सेपार्टनबाट नेपाल र नेपाली चिनाउने अभियानमा छु।”