एडिलेड- अन्तर्राष्ट्रिय उडानमार्फत एडिलेड विमानस्थल आइपुगेका एक यात्रु पक्राउ परेका छन्, जब उनको सुटकेसको ह्याण्डलबाट “कालो तरल पदार्थ” बगिरहेको देखियो।
अष्ट्रेलियन संघीय प्रहरी (AFP) का अनुसार, ४७ वर्षीय अष्ट्रेलियन-अफगान नागरिकलाई मंगलबार विमानस्थलमा रोकिएको थियो। प्रहरीले उनको झोलाको जाँच गर्दा ५०० ग्राम हेरोइन फेला पारेको दाबी गरेको छ। सुरुमा झोलाबाट बगिरहेको कालो तरलको परीक्षण गर्दा त्यसमा हेरोइन पोजिटिभ आएको हो।
उनलाई ‘border controlled substance’ को व्यावसायिक परिमाण आयात गरेको आरोपमा मुद्दा लगाइएको छ। दोषी ठहरिएमा उनी २५ वर्षसम्म जेल सजाय भोग्न सक्छन्।
अभियुक्तले बुधबार अडिलेड म्याजिस्ट्रेट अदालतमा उपस्थिति जनाए। अब उनलाई सेप्टेम्बर २३ मा फेरि अदालतमा उपस्थित गराइनेछ।
AFP ले बताए अनुसार यो पक्राउ “अधिकारीको अनुभवी नजर” का आधारमा गरिएको हो, “भाग्यको कुरा होइन”।
ABF सुपरीटेन्डेन्ट जोडी ग्रिसवुड भन्छिन्, “यो एक्लो घटना होइन। यस्ता सफलता हाम्रो विमानस्थलहरूमा हरेक साताहरूमा देखिन्छन्।”
ABF अधिकारीहरू सीमा सुरक्षा क्षेत्रमा निकै तालिमप्राप्त, अनुभवी र सतर्क छन्। उनीहरू यात्रुहरू र तिनका झोलामा के हेर्नु पर्ने भन्नेमा राम्ररी जानकार छन्,” उनले थपिन्।