अष्ट्रेलिया / नक्कली पासपोर्ट प्रयोग गरी अष्ट्रेलिया छिरेका एक आयरिस युवा ओछ्यानको बेडसिट कम्मरमा बाँधेर भवनको पर्खालबाट हाम फालेर भाग्ने प्रयास गर्दा पुनः प्रहरीको फन्दामा परेका छन्।
२६ वर्षीय उक्त युवकलाई अष्ट्रेलियन फेडेरल पुलिस (AFP) को पक्राउ वारन्टपछि न्यू साउथ वेल्स (NSW) को बक्स हिलबाट बिहीबार (जुलाई ३१) स्थानीय प्रहरीले पक्राउ गरेको हो। शुक्रबार (अगस्ट १) पेरामाटा मजिस्ट्रेट्स कोर्टमा पेश भएपछि उनलाई सोही दिउँसो क्विन्सल्याण्ड (QLD) प्रत्यर्पण गर्ने आदेश दिइएको थियो।
आरोप अनुसार, उनले यस वर्ष मार्चमा नक्कली राहदानी प्रयोग गर्दै अष्ट्रेलिया प्रवेश गरेका थिए। बायोमेट्रिक परीक्षण गर्न अस्वीकार गरेपछि उनलाई हिरासतमा लिइएको थियो। तर, उनी हिरासत भवनको सञ्झ्यालबाट बेडसिट बाँधेर तल झरेर भागेको दाबी प्रहरीले गरेको छ।
उनीमाथि दुईवटा मुद्दा दायर गरिएको छः
- नक्कली कागजात र गलत/भ्रामक जानकारी प्रयोग गरेको (Migration Act 1958 (Cth) को धारा 234 विपरीत)
- हिरासतबाट फरार भएको (Migration Act 1958 (Cth) को धारा 197A विपरीत)
नक्कली कागजात प्रयोग सम्बन्धी अपराधको अधिकतम सजाय १० वर्ष जेलको व्यवस्था छ।