मोमोदेखि वाई-वाई सम्म अब टाउन्सभिल मै ! 

मोमोदेखि वाई-वाई सम्म अब टाउन्सभिल मै ! 
नेपालआईज
२० साउन २०८२ ५:५१

ब्रिसबेन /  क्विन्सल्याण्डको टाउन्सभिलमा तीव्र गतिमा बढ्दै गएको र बहु सांस्कृतिक जनसङ्ख्या विस्तारले नयाँ व्यापारिक अवसरहरू सिर्जना गरिरहेको छ। यही अवसरलाई आत्मसाथ गर्दै नेपाली मूलका अस्ट्रेलियन जुशन–निशाले पहिलो नेपाली किराना पसल खोलेका छन्।

गत जनवरीमा सुरु भएको मन्त्र मिनि मार्ट ले प्रामाणिक नेपाली सामानहरूमा विशेष ध्यान दिएको छ। यसले नेपाली, भारतीय तथा व्यापक दक्षिण एसियाली समुदायका लागि मसला, चामल, दाल र अन्य विशेष उत्पादनहरू पनि उपलब्ध गराउँदै आएको छ। यी वस्तुहरू पसलमै मात्र होइन, अनलाइनमार्फत पनि खरिद गर्न सकिन्छ।

यो व्यवसाय जुशन राज जोशी र निशा रञ्जितको सपना हो, जसले सन् २००० को दशकमा अस्ट्रेलिया अध्ययनका लागि आएका थिए। जोशीले २०१४ मा सेफको रूपमा काम गर्दा टाउन्सभिलका मानिस र आरामदायी जीवनशैलीसँग मोह बढ्यो।

“गत दशकमा मैले टाउन्सभिलमा ठुलो परिवर्तन देखेको छु,  दक्षिणी राज्यहरूबाट धेरै मानिस यहाँ बस्न आउँदैछन्, र समुदाय अझ विविध बन्दैछ। नेपाली समुदायको वृद्धि देखेर म विशेष रूपमा चकित भएँ,” जोशीले भने।

उनी भन्छन्, “यहाँ बस्दा प्रामाणिक नेपाली सामग्री पाउन गाह्रो हुन्थ्यो, सामान्य मसला वा दाल भारतीय पसलहरूमा पाइन्थे, तर हामी चाहिने विशेष नेपाली सामानहरू हुँदैनथ्यो, वा भए पनि विकल्प सीमित हुन्थ्यो।”

समुदायको वृद्धि र प्रामाणिक उत्पादनको माग बुझेर उनीहरूले टाउन्सभिलको पहिलो नेपाली किराना पसल सुरु गर्ने निर्णय गरे। अहिले ग्राहकहरू मोमो, विशेष चट्नी, बोयर बाख्राको मासु, रोहु माछा, भैँसीको मासु, कुखुरा, वाई–वाई, थुक्पा, करेन्ट नूडल्स, चटपटी खाजा र चीजबल्सका लागि आकर्षित भइरहेका छन्।

व्यवसाय सुरुमा केही ढिलो गतिमा चले पनि नेपाली समुदायमा प्रचार बढ्दै जाँदा बिक्रीमा वृद्धि भइरहेको जोशीले बताए। “सबैभन्दा रमाइलो कुरा के छ भने विभिन्न पृष्ठभूमिका मानिसहरू पसलमा आउँछन्, भेटघाट गर्छन् र खानाको माध्यमबाट कथा साझा गर्छन्,” उनले भने।

आगामी दिनमा, उनीहरूले एसियाली, अफ्रिकी र अन्य समुदायका लागि पनि उत्पादन दायरा विस्तार गर्ने योजना बनाएका छन्।

यो लिंकमा गएर तपाई मन्त्र मिनी मार्टमा रहेका सामान हेर्न र खरिद गर्न सक्नुहुन्छः 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको