अस्ट्रेलिया । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र विदेश मन्त्री पेनी वोंगले पालेस्टाइनलाई औपचारिक मान्यता दिने निर्णय गरेका छन्। यो घोषणा आगामी सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघको ८०औं महासभामा गरिनेछ। अष्ट्रेलियाले यस कदममार्फत दुई राष्ट्र समाधान, गाजामा युद्धविराम र बन्धकको मुक्तिको अन्तर्राष्ट्रिय प्रयासलाई सशक्त बनाउने लक्ष्य लिएको छ।
प्रधानमन्त्री अल्बानीजले पालेस्टाइन प्राधिकरणबाट सुशासन सुधार, बन्दी भत्ता अन्त्य, शिक्षामा सुधार, निशस्त्रीकरण र आम निर्वाचनको प्रतिबद्धता पाएपछि यो निर्णय गरिएको बताए। उनले हमासलाई गाजाबाट हटाउन र हतियार बुझाउन अरब लिगको मागलाई ऐतिहासिक कदम भने।
अस्ट्रेलियाले इजरायलको सुरक्षा सुनिश्चित गर्दै पालेस्टिनी राज्य निर्माणका लागि विश्व समुदायसँग मिलेर शान्ति प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएको छ।