मेलबर्न । नेवा पुचः मेलबर्नको आयोजनामा मेलबर्नमा पहिलो पटक गाइजात्रा भव्य रूपमा सम्पन्न भएको छ। ज्याक रोपार रिजर्भमा आयोजित कार्यक्रममा बाँसुरी र धिमे बाजा, मृतकका तस्बिर बोकेर परिक्रमा, श्रद्धाञ्जली अर्पण, घिन्ताङ्घिसि (लट्ठी नाच), लाखे नाच, तथा रोपाइँ जात्रा नाटकीय शैलीमा आकर्षक ढंगले प्रदर्शन गरिएका थिए।
कार्यक्रमका प्रमुख वक्ता लुम्बिनी–कपिलवस्तु विश्व अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले गाइजात्राको ऐतिहासिक पृष्ठभूमि प्रस्तुत गर्दै जनविश्वास र पौराणिक कथनको चर्चा गरे। ऐतिहासिक प्रमाण अनुसार, पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारमा अन्यले पनि यस्तै दुःख भोगेका छन् भन्ने देखाउन राजा प्रताप मल्लले मृतकका नाममा सापारु निकालेर शहर परिक्रमा गर्न लगाएका थिए। तर रानीको मन शान्त नहुँदा, उनले विभिन्न प्रहसन र व्यङ्ग्यात्मक कार्यक्रमहरू गर्न आदेश दिए, जसबाट गाइजात्रा प्रचलनमा आएको विश्वास गरिन्छ।
पौराणिक दृष्टिले, पद्मपुराण र गरुड पुराणमा यमलोकको मुख्य ढोका वर्षभर बन्द रहने, तर पृथ्वीलोकमा सापारु निकालेपछि ढोका खुल्ने र मृतात्माले यमलोक प्रवेश पाएर मुक्ति प्राप्त गर्ने उल्लेख पाइन्छ।
कार्यक्रमको अन्त्यमा सहभागी सबैलाई प्रसाद स्वरूप समय बजी वितरण गरियो। पार्कमा आएका विदेशी दर्शकहरूले समेत उत्साहका साथ कार्यक्रम अवलोकन गरेका थिए।