मेलबर्न । भिक्टोरियाको पोरेपुन्काह (Porepunkah) मा आज बिहान भएको गोलीकाण्डमा दुई प्रहरीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। घाइते प्रहरीलाई तत्काल उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ।
प्रहरीका अनुसार उनीहरू यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा पक्राउ पूर्जी लिएर आरोपीको घर पुगेका थिए। प्रारम्भिक सोधपुछ सप्ताहन्तमै भए पनि आज वारेन्ट कार्यान्वयन गर्ने क्रममा परिस्थिती अचानक हिंसात्मक बनेको जनाइएको छ।
प्रहरी स्रोतले गोली चलाउने व्यक्ति डेज़ी फ्रीम्यान (Dezi Freeman) भएको पुष्टि गरेको छ। ५० वर्ष पार गरेका फ्रीम्यानले दुई प्रहरीलाई घटनास्थलमै गोली हानी हत्या गरेका र तेस्रो प्रहरीलाई गम्भीर घाइते बनाएको आरोप लागिरहेको छ।
घटनापछि माउन्ट बफेलो (Mount Buffalo) क्षेत्र आसपास विशेष कार्यदल (Special Operations Group) परिचालन गरिएको छ। स्थानीय बासिन्दालाई सुरक्षाको कारण घरभित्रै बस्न र अनावश्यक आवतजावत नगर्न आग्रह गरिएको छ।
प्रहरीले आक्रमणकारी अझै फरार रहेको र उनको खोजीका लागि व्यापक अभियान चलाइरहेको जनाएको छ।