भिक्टोरियामा घृणाको कुनै ठाउँ छैन:  प्रिमियर एलेन

भिक्टोरियामा घृणाको कुनै ठाउँ छैन:  प्रिमियर एलेन
नेपालआईज
१७ भदौ २०८२ ५:४२

मेलबर्न/ मङ्गलवार बिहान भएको पत्रकार सम्मेलनका घटनापछि भिक्टोरियाकी मुख्यमन्त्री ज्यासिन्ता एलेनले आफू असुरक्षित नभएको र डराएको नभनी स्पष्ट पार्दै नाजीवादी समूहहरूको विरोधलाई “गौरवको ब्याज”का रूपमा लिएको बताएकी छिन्।

एलेनले भनिन्, “यो मेरो मात्र विषय होइन। यो त ती सबै समुदायका मानिसहरूका लागि हो जसलाई नाजीहरूले निशाना बनाउँछन् — बहु सांस्कृतिक पृष्ठभूमिका मानिसहरू, LGBTIQA+ समुदाय, आदिवासी समुदाय (First Peoples), र यहुदीहरू।”

मुख्यमन्त्रीले आगामी दिनमा लागू हुने ‘घृणा विरुद्धका कानुन’ले यी समुदायलाई संरक्षण गर्ने विश्वास दिलाउँदै भनिन्, “हाम्रो राज्यमा घृणाको कुनै ठाउँ छैन। तपाईँ जो हुनुहुन्छ, जसलाई प्रेम गर्नुहुन्छ, जसलाई प्रार्थना गर्नुहुन्छ, म सधैँ तपाईँको अधिकारका लागि लड्नेछु।”

एलेनले आफू आज जस्तै भोलि पनि जनताबिच रहने, सार्वजनिक रूपमा उपस्थित भएर समाजको सुरक्षाका लागि सङ्घर्ष गर्ने र कहिल्यै नडराउने प्रतिबद्धता जनाइन्।

उनले थपिन्, “यी समूहहरू समाजलाई विभाजित गर्न डर पैदा गर्छन्। तर उनीहरू असफल हुनेछन्। किनकि भिक्टोरियालीहरू निष्पक्ष छन्, र हाम्रा मूल्यहरू दृढ छन्।”

पत्रकर सम्मेलनमा के भएको थियो ? 

 भिक्टोरियाका प्रिमियर जसिन्ता एलेनको पत्रकार सम्मेलनमा  निओ–नाजी समूहका नेता थोमस सुअलले अवरोध  गरेका छन । 

मंगलबार मेलबर्नमा   वर्क फ्रम होम  नीतिबारे जानकारी दिँदै गर्दा एलेनमाथि सुअल र उनका सहयोगी नाथन बुलले आक्रामक शैलीमा नाराबाजी गरेका थिए। उनीहरूले ‘प्रदर्शन गर्ने अधिकार’को विषयमा आक्रोशित हुँदै प्रिमियरलाई  अवरोध  गर्ने प्रयास गरेका थिए  । 

स्थिति तनाबपूर्ण बनेपछि सुरक्षाकर्मीहरूले सुअललाई नियन्त्रणमा लिन खोज्दा उनले “माथि हात नलगाउ, यो मेरो देश हो, हामी राजनीतिज्ञहरूबाट देश फिर्ता लिन्छौं” भन्दै चर्को आवाजमा प्रतिवाद गरेका थिए। केही मिनेटमै   पत्रकार सम्मेलन  स्थगित गरिएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको